झापा भद्रपुरले जित्यो दोस्रो जेफाले भलिबल कप २०८२ को उपाधी
Uttari Morang
हरेक नयाँ बर्षमा लाग्ने ऐतिहासिक हाबेचौरी मेलाको अबसरमा मोरङको केराबारी गाउँपालिका २, जेफालेमा आयोजित दोस्रो जेफाले भलिबल कप २०८२ को उपाधी झापा भद्रपुरले जितेको छ ।
प्रतियोगितामा बिभागीय तथा राष्ट्रिय टीमहरुलाइ पाखा लगाउँदै फाइनलमा पुगेको भद्रपुरले फाइनलमा झापाकै दमकलाई पराजित गर्दै भलिबल कपको उपाधी जितेको हो । फाइनल खेलमा दमकसँग प्रतिस्पर्धा गरेको भद्रपुरले ५ खेलमध्ये चौथो खेलमा ३- १ को सेटमा दमकलाई पराजित गरेको थियो।
उपाधि उचालेको भद्रपुरले मेडल ,ट्रफी र प्रमाणपत्र सँगै नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पारेको छ भने उपविजेता दमकले मेडल ,ट्रफी र प्रमाणपत्रसँगै ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ।
जेफाले स्थित भलिबल खेलस्थलमा भएको खेलको फाइनल प्रतिस्पर्धामा दर्शकहरूको थामिनसक्नु ओइरो लागेको थियो। प्याराफिटमा बस्ने ठाउँसमेत नपाएर दर्शकहरू उभिएरै हेर्न बाध्य भएका थिए। फाइनल खेलमा केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर , जेफाले पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी, केराबारी गाउँपालिकाका प्रवक्ता नारायण भुजेल, केराबारी गाउँपालिकाकै कृषि तथा आर्थिक समिति संयोजक एवं केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बु, खेलकुद विकास समितिका संयोजक देवीलाल लिम्बु लगायत विभिन्न संघसंस्थाका प्नतिनिधिरुको उपस्थिति थियो ।
केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगर , जेफाले पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष डिल्लीराम शर्मा अधिकारी,, केराबारी गाउँपालिकाकै कृषि तथा आर्थिक समिति संयोजक एवं केराबारी २ का वडाध्यक्ष प्रेम लिम्बु, खेलकुद विकास समितिका संयोजक देवीलाल लिम्बु लगायतले विजेता र उपविजेता टिमलाई पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
केराबारी गाउँपालिका अन्तर्गतको खेलकुद विकास समितिद्वारा बैशाख २ गतेदेखि ५ गतेसम्म भएको भलिबल प्रतियोगितामा भद्रपुर र दमक लगायत आयोजक केराबारी गाउँपालिका. चौबिसे गाउँपालिका धनकुटा, बेलबारी नगरपालिका मोरङ, लेटाङ नगरपालिका मोरङ तथा विभागीय टिमहरू सशस्त्र प्रहरी बल पकली र कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगर गरी आठवटा टिमहरू सहभागी थिए।
जेफालेमा करिब दुई दशकदेखि नयाँ वर्षको अवसरमा मेला तथा भलिबल लगायत विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन हुँदै आएका छन् । यसअघि जनस्तरबाट सञ्चालन हुँदै आएको मेला तथा प्रतियोगितालाई निरन्तरता दिँदै केराबारी गाउँपालिकाले पछिल्लो समय भलिबल प्रतियोगितालाई बृहत बनाउँदै पुरस्कार शि समेत बढाएको छ । केराबारी गाउँपालिकाले खेलकुदका विभिन्न क्षेत्रमा काम गर्दै आएको र जेफालेमा पनि खेलकुद मैदानको स्तरोन्नति लगायत का लागि तालिकाले अर्को वर्षभित्रै बजेट व्यवस्थापन गर्ने गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङ मगरले बताउनुभयो।



