ताजा अपडेट
पर्यटकहरूको रोजाइमा पर्दै जेफाले, तर परेन राज्यको नजरमा
Uttari Morang
बुधबार, बैशाख ३०, २०८३
हरियाली डाँडाकाँडा, शान्त वातावरण, स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्यले भरिएको पूर्वी नेपालको आकर्षक पर्यटकी गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ जेफाले पछिल्लो समय आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ ।
इलामका प्रसिद्ध पर्यटन क्षेत्रझैँ विकास गर्न सकिने क्षमता हुँदाहुँदै पनि जेफाले आजसम्म राज्यको प्राथमिकतामा पर्न सकेको छैन । पर्यटनको सम्भावना बढ्दै गए पनि आधारभूत पूर्वाधार अभावले स्थानीयवासी र पर्यटक दुवै समस्यामा परिरहेका छन् ।
सबैभन्दा ठूलो समस्या सडकको हो । वर्षौंदेखि स्थानीयले राम्रो सडकको माग गर्दै आए पनि जेफाले पुग्ने सडक अझै कच्ची र जोखिमपूर्ण अवस्थामै छ । वर्षायाममा हिलो र पहिरोका कारण यात्रा कठिन बन्ने गरेको स्थानीय बताउँछन् । पर्यटन प्रवर्द्धनको कुरा गर्ने सरकारी निकायहरूले प्रचारभन्दा व्यवहारिक पूर्वाधार निर्माणमा ध्यान नदिँदा यहाँ आउने पर्यटकले सास्ती खेप्नुपरेको छ । सहज सडक पहुँच नहुँदा कृषि उत्पादन बजारसम्म पुर्याउनसमेत स्थानीयलाई कठिनाइ भइरहेको छ ।
सडकसँगै अर्को गम्भीर समस्या दूरसञ्चार सेवाको अभाव हो । अधिकांश क्षेत्रमा मोबाइल नेटवर्कले काम नगर्दा स्थानीयवासी सामान्य सम्पर्कका लागि पनि डाँडाकाँडा चढ्न बाध्य छन् । आकस्मिक अवस्थामा एम्बुलेन्स बोलाउन, आफन्तसँग सम्पर्क गर्न वा इन्टरनेट प्रयोग गर्न नसक्ने अवस्था रहेको स्थानीयको गुनासो छ । डिजिटल युगमा समेत सञ्चारविहीन जीवन बिताइरहेका जेफालेवासी राज्यको उपेक्षाबाट निराश बनेका छन् । पर्यटन, कृषि र स्थानीय आर्थिक विकासको ठूलो सम्भावना बोकेको जेफालेमा अब सरकारको ध्यान पुग्न आवश्यक देखिएको छ ।
सडक, सञ्चार र आधारभूत पूर्वाधारमा लगानी गर्न सके यो क्षेत्र पूर्वी नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ ।



