प्रचार अभाव र यातायातका कारण ओझेलमा छ समलामा निर्मित पदमार्ग
Uttari Morang
स्थानीय पर्यटन विकासको नयाँ सम्भावना बोकेको भए पनि प्रचार–प्रसारको अभावमा लेटाङ नगरपालिका–७ स्थित समलामा निर्माण गरिएको पदमार्ग ओझेलमा परेको छ ।
लेटाङ नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को कार्ययोजना अन्तर्गत विनियोजन गरेको १९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको समला पदमार्ग अहिले आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।
समला पर्यटन विकास समितिका अध्यक्ष सुसन राईका अनुसार गर्मी मौसममा दैनिकजसो १५० देखि २०० जना पर्यटक समला पुग्ने गरेका छन्। सार्वजनिक बिदा तथा विशेष अवसरका दिन भने यो संख्या अझै बढ्ने गरेको उनले बताए। पथरी, उर्लाबारी, कानेपोखरी, विराटनगर, दमक र बिर्तामोडलगायतका क्षेत्रबाट पर्यटकहरू गर्मी छल्न तथा प्राकृतिक वातावरणको आनन्द लिन समला पुग्ने गरेका छन्।
कानेपोखरी बजारबाट करिब १४ किलोमिटरको दूरीमा रहेको समला प्राकृतिक रूपमा अत्यन्त शीतल क्षेत्रका रूपमा परिचित छ। यहाँ बेलाबेला कुहिरो लाग्ने, हल्का वर्षा भइरहने र हरियाली वातावरणले पर्यटकलाई लोभ्याउने गरेको छ। गर्मीका बेला तराईका विभिन्न स्थानमा बढ्दो तापक्रमबाट राहत खोज्दै धेरै पर्यटक समला पुग्ने गरेका छन्।
स्थानीयवासी तथा पर्यटनकर्मीहरूका अनुसार समलामा पर्यटनको अथाह सम्भावना रहेको छ। यहाँको पर्यटन प्रवर्द्धन र विकासलाई व्यवस्थित रूपमा अघि बढाउन सके स्थानीयको आयआर्जन वृद्धि हुने, रोजगारीका अवसर सिर्जना हुने तथा स्थानीय स्तरमा उत्पादित कृषि तथा अन्य वस्तुको बजारीकरणमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
तर, पर्यटन विकासको मुख्य चुनौती भने सडक पूर्वाधार बनेको छ। समलासम्म पुग्ने सडक निर्माण तथा स्तरोन्नतिको काम समयमै सम्पन्न हुन नसक्दा बाहिरबाट आउने पर्यटकहरूले यात्रा गर्दा सास्ती खेप्नुपरेको स्थानीयको गुनासो छ। सडकको अवस्था सुधार हुन सके पर्यटक आगमन अझै बढ्ने र समला पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने विश्वास स्थानीयले व्यक्त गरेका छन्।
प्राकृतिक सौन्दर्य, चिसो हावापानी र सहज पदयात्राको अनुभव दिने समला अहिले विस्तारै पर्यटकको रोजाइमा पर्न थालेको छ। तर यसको दीर्घकालीन विकासका लागि पूर्वाधार निर्माणसँगै प्रभावकारी प्रचार–प्रसार आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।




