२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
समाचार

कोरोनासहित सबै किसिमका बिरामीको उपचार गर्ने प्रबन्ध मिलाउँदै नोबेल अस्पताल

Author Uttari Morang
शुक्रबार, चैत्र २१, २०७६
कोरोनासहित सबै किसिमका बिरामीको उपचार गर्ने प्रबन्ध मिलाउँदै नोबेल अस्पताल

ज्वरो आएका बिरामीलाईसमेत अस्पतालहरुले लिन नमानिरहेका बेला बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले कोरोना लागेकासहित सबै किसिमका बिरामीको उपचार गर्न नोबेल अस्पताल तयार रहेको बताएका छन् ।

कतिपय व्यक्तिले उपचार गर्न नमानेको भनेर अफवाह फैलाएको भन्दै उनले नोबेल अस्पताल जस्तोसुकै समस्याको पनि उपचार गर्न २४ सै घण्टा तयार रहेको बताएका हुन् । जुनसुकै समस्या भएका बिरामीको उपचारमा पनि नोबेल अस्पताल पछि नहट्ने भन्दै उनले सामाजिक सञ्जाल मार्फत पनि सन्देश दिएका छन् । नोबेलमा कोरोनाका संभावित बिरामी र अन्य समस्याका बिरामीको उपचारका लागि छुट्टा–छुट्टै उपचार कक्ष पनि निर्माण गरिएको छ ।

‘हामीले ५० शैयाको आइसोलेसन, ५ वटा भेण्टिलेटरसहितको १० शैयाको आइसोलेसन सघन उपचार कक्ष र २ वटा डेडिकेटेड डायलाईसिस मेसिनसहितको आइसोलेटेड डाइलाईसिससमेतको व्यवस्था गरेका छौ ।’ डा.शर्माले भने ‘अफवाह फैलाउँनेको भ्रममा नपर्नुहोस् । हामी जस्तासुकै बिरामीको उपचारमा सधै प्रतिवद्ध छौ ।’ नोबेलमा कोरोनाका बिरामीको उपचारका लागि दुई सय बेडको आइसोलेसन वार्ड पनि तयारी अवस्थामा राखिएको डा.शर्माले जानकारी दिए ।

कोरोनाका र अन्य बिरामीका लागि यत्ति धेरै बेडको बेग्ला बेग्लै उपचार कक्ष निर्माण गर्ने नोबेल निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो अस्पताल हो । ७१ वटा भेन्टिलेटरसहित ७ सय ६४ शैया रहेको नोबेल निजी क्षेत्रबाट सञ्चालित पूर्वी नेपालको सबैभन्दा ठूलो अस्पताल पनि हो ।

‘अहिले सरकारको मुख ताक्ने बेला हैन, सकेको सहयोग गर्न तयार छौ’

कोरोनाबिरुद्ध सरकारले अवलम्बन गरेको अभियानमा साथ दिन आफुले सकेको जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको डा.शर्माले बताएका छन् । ‘अहिले सरकारको मुख ताकेर मात्र बस्ने बेला हैन, सवैले सकेको भूमिका खेल्नुपर्छ । हाम्रो क्षेत्रबाट सक्दो सहयोग गर्न तयार छौ ।’ उनले भने ।

कोरोनाले निम्त्याएको संकटले सम्पूर्ण नागरिकलाई प्रभावित पारेकाले सवैको भलाइका लागि सहयोग गर्न आफु तयार रहेको डा.शर्माको भनाई छ । यसअघि डा.शर्माले नोबेल अस्पताललाई कोरोना उपचार केन्द्र बनाउँन दिन तयार रहेको घोषणा गर्दै सरकारलाई लिखित पत्रसमेत पठाएर छलफलका लागि आग्रह गरेका थिए ।

उनले पूर्वी नेपालमै पहिलो पटक नोबेल अस्पतालमा उपचारमा खटिने सवै स्वास्थ्यकर्मीलाई पीपीईको व्यवस्था पनि मिलाएका छन् । अहिले कोरोनाका र अन्य बिरामीलाई छुट्टा छुट्टै स्तरीय उपचार कक्ष निर्माण गरिएको हो ।