२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत

Author Uttari Morang
शनिबार, आश्विन २०, २०७५
पारसको अर्धशतक र सन्दीपको पाँच विकेटसंगै मलेसिया विरुद्ध नेपालको शानदार जीत

आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट समूह बी अन्तर्गत मलेसियाविरुद्ध भएको खेलमा नेपालले शानदार जीत निकालेको छ ।

सन्दीप लामिछानेको उत्कृष्ट बलिङ तथा कप्तान पारस खड्काको अर्धशतक मद्दतमा नेपालले टी-२० वर्ल्डकप क्वालिफायर एसिया रिजनको समूह बी मा मलेसियालाई ८ विकेटले पराजित गरेको हो ।

क्वालिफायरमा नेपाललाई लगातार दोस्रो जित दिलाउन बलिङमा सन्दीप लामिछानले ५ विकेट लिएका थिए भने ब्याटिङमा कप्तान पारसले नटआउट ५२ रन बनाए । पारसले ३७ बलमा ५ चौका र २ छक्काको मद्दतमा ५२ रन पुरा गरे । यस्तै ज्ञानेन्द्र मल्लले २४ बल खेल्दै २ चौका र १ छक्काको मद्दतमा नटबउट २७ रन जोडे। ज्ञानेन्द्रले १३औँ ओभरको चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले १२.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

तेस्रो नम्बरमा ब्याटिङ गरेका पारस र उपकप्तान ज्ञानेन्द्र मल्लसँग ३५ बलमा नटआउट ६९ रनको साझेदारी गरे। नेपालका ओपनर अनिल शाह (१) दोस्रो ओभरमै आउट भएका थिए। अर्का ओपनर विनोद भण्डारीले १२ बल खेलेर १२ रन बनाएका थिए ।

त्यसअघि क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १९.३ ओभरमा १०० रनमा अलआउट भएको थियो । मलेसियालाई अलआउट गर्न नेपालका सन्दीपल लामिछानेले सर्वाधिक ५ विकेट र सोमपाल कामीले ३ विकेट झारे।

सन्दीपले ४ ओभरमा २० रन खर्चेर ५ विकेट लिएका थिए  । उनले  सर्वाधिक ४९ रन बनाएका सरिफसहित सुहान अलागारतनम (५) भिरनदिप सिंह र स्याज्रुल इद्रुस (०) को विकेट लिए। मलेसियाका लागि सरिफ र अजिजबाहेक बाँकी ९ खेलाडीले दोहोरो अंक बनाउन  सकेनन्। लगातार दुई खेल जितेर नेपाल  ४ अंक सहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। ३ खेलबाट मलेसियाको ३ अंक मात्रै छ ।