२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
उत्तरी मोरङ

लेटाङमा सकियो न्यायिक समितिहरुको जिल्ला स्तरीय भेला, सहकार्य गर्नुपर्ने निष्कर्ष

Author Uttari Morang
बुधबार, आश्विन २८, २०८३
लेटाङमा सकियो न्यायिक समितिहरुको जिल्ला स्तरीय भेला, सहकार्य गर्नुपर्ने निष्कर्ष

स्थानीय तहका न्यायिक समितिको कार्यसम्पादनलाई प्रभावकारी बनाउने, एकअर्काबीच असल अभ्यास आदानप्रदान गर्ने तथा न्याय निरूपणका क्रममा देखिएका समस्या समाधानका उपाय खोज्ने उद्देश्यले मोरङ जिल्ला स्तरीय न्यायिक समितिको भेला मंगलबार लेटाङमा सम्पन्न भएको छ ।

लेटाङ नगरपालिकाको न्यायिक समितिको आयोजनामा भएको भेलामा मोरङ जिल्लाका विभिन्न पालिकाका न्यायिक समिति संयोजक, सदस्य, उजुरी प्रशासक तथा न्यायिक समितिमा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

भेलामा सहभागीहरूले आ–आफ्नो पालिकामा न्याय सम्पादनका क्रममा हासिल गरेका उपलब्धि, अपनाइएका असल अभ्यास, कार्यसम्पादनमा देखिएका चुनौती तथा सुधार गर्नुपर्ने विषयबारे अनुभव आदानप्रदान गरेका छन् ।

लेटाङ नगरपालिकाका न्यायिक समिति संयोजक तथा उपप्रमुख कृष्णकुमारी निरौलाको अध्यक्षता र नगर प्रमुख भूपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा मोरङका अधिकांश पालिकाका न्याकि समितिका प्रतिनिधिहरूले सहभागिता जनाएका छन् ।

कार्यक्रमको सुरुवातमा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले नगरपालिकाको न्यायिक समितिले हालसम्म गरेका काम, कार्यसम्पादनका क्रममा अपनाइएका असल अभ्यास, सुधार गर्नुपर्ने पक्ष तथा भोग्नुपरेका समस्याबारे जानकारी गराउनुभयो । सो अवसरमा लेटाङ नगरपालिकाको परिचय समेटिएको छोटो भिडियो सामग्री प्रस्तुत गर्नुका साथै न्यायिक समितिको कार्यसम्पादनसम्बन्धी प्रतिवेदनसमेत भिडियोमार्फत प्रस्तुत गरिएको थियो ।

भेलामा सहभागी विभिन्न पालिकाका प्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा न्यायिक समितिले विवाद समाधानका लागि अपनाएका विधि, कार्यसम्पादनका क्रममा प्राप्त सकारात्मक नतिजा तथा न्याय निरूपण र फैसला कार्यान्वयनमा देखिएका कठिनाइबारे अनुभव सुनाएका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले मोरङ जिल्लाभरिका न्यायिक समितिलाई एकै ठाउँमा भेला गराएर अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गरेकोमा लेटाङ नगरपालिकाको न्यायिक समितिलाई धन्यवाद दिनुभयो । उहाँले यस्ता कार्यक्रमले न्यायिक समितिहरूबीच आपसी सिकाइ र सहकार्य बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि मोरङ जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलले न्यायिक समितिले स्थानीय स्तरमा नागरिकका विवाद समाधान गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले न्यायपालिकाले समेत समेट्न नसकेका विभिन्न विषयलाई स्थानीय तहका न्यायिक समितिले सम्बोधन गरिरहेको भन्दै त्यसका लागि न्यायिक समितिहरूदाई धन्यवाद दिनुभयो ।
उहाँले न्यायिक समितिले फैसला गर्नु भन्दापनि फैसला कार्यान्वयन हुनु अझ महत्वपूर्ण रहेको भन्दै फैसला कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
न्यायाधीश पोखरेलले मोरङका सुन्दरहरैंचा, बेलबारी, मिक्लाजुङ, लेटाङ, रतुवामाई र विराटनगरलगायतका पालिकाका न्यायिक समितिले अपनाएका अभ्यास उदाहरणीय रहेको पनि बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले भेलामा मोरङका अधिकांश पालिकाको उत्साहजनक सहभागिता रहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सहभागी सबैलाई धन्यवाद दिँदै स्थानीय तहमा न्यायिक समितिको भूमिकालाई महत्वपूर्ण रहेको बताउनुभयो ।
नगर प्रमुख लावतीले भन्नुभयो, “न्यायिक समितिको भूमिका निकै महत्वपूर्ण छ । न्यायिक समितिका कारण तल्लो वर्गका मानिसहरूले पनि न्यायको अनुभूति गर्न पाएका छन् ।”

उहाँले स्थानीय स्तरमै नागरिकका विवाद समाधान गर्न न्यायिक समितिले खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । यस्ता भेलाबाट एकअर्काका अनुभव सिकेर न्यायिक समितिको कार्यसम्पादन सुधार गर्न सहयोग पुग्ने उहाँको भनाइ छ ।

भेलामा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख अकली चौधरी, पथरीशनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्ले, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना पौडेल, रतुवामाई नगरपालिकाकी उपप्रमुख दमयन्ता चुडाल र सुनवर्षी नगरपालिकाकी उपप्रमुख मीरा दास केवरत सहभागी हुनुहुन्थ्यो ।

त्यसैगरी, मिक्लाजुङ गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेल, कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृताकुमारी गच्छदार, कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीता राजवंशी, ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवती धामी र जहदा गाउँपालिकाकी उपाध्यक्ष हन्ना सोरेनलगायतको सहभागिता रहेको थियो ।

यस्तै कार्यक्रममा विभिन्न पालिकाका न्यायिक समिति सदस्य र कर्मचारीहरुको समेत सहभागिता रहेको थियो । बेलबारी नगरपालिकाबाट पनि न्यायिक समितिका पदाधिकारी र कर्मचार सहभागी भएका थिए । रंगेली, धनपालथान र केराबारी गाउँपालिका भने कार्यक्रमम अनपस्थित रहेका थिए ।

स्थानीय तहमा नागरिकका विवादलाई सहज, सुलभ र प्रभावकारी ढंगले समाधान गर्न न्यायिक समितिहरूको भूमिका महत्वपूर्ण मानिन्छ । मोरङ जिल्ला स्तरीय यस भेलाले विभिन्न पालिकाका असल अभ्यासबाट सिक्ने, कार्यसम्पादनका चुनौती पहिचान गर्ने र न्यायिक सेवालाई थप प्रभावकारी बनाउने दिशामा सहकार्यको आधार तयार गर्ने अपेक्षा गर्न सकिन्छ ।

#morangkhabar #LetangMorang #Letangkhabar