२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

गाउँमै पानी बेचेर लाखौंं आम्दानी गर्दै पाँचथरको एक गाउँपालिका

Author Uttari Morang
बिहिबार, मंसिर २७, २०७५
गाउँमै पानी बेचेर लाखौंं आम्दानी गर्दै पाँचथरको एक गाउँपालिका

पाँचथरको कुम्मायक गाउँपालिकाले अढाई महिनामै पानी बेचेर ४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको छ ।
पानीको चर्को समस्या रहेको वडाबासीलाई गत असोज ८ देखि हालसम्म ६ लाख ६८ हजार लिटर पानी बेचेर गाउँपालिकाले उक्त आम्दानी गरेको हो । यसवर्ष सुख्खापना छिट्टै सुरु भएपछि गाउँपालिकाले वडाबासीलाई ६० पैसाका दरले प्रतिलिटर पानी रसिद कटाएर असोजदेखि नै घरघरमा उपलव्ध गराउँदै आएको छ ।
गाउँपालिकाको आन्तरिक आम्दानीको श्रोतको रुपमा कृषि उपज, वन पैदावर र करपछि पानी देखिएको छ। तर गाउँपालिकाले भने पानी वितरण गरेर भएको आम्दानीले डिजेलको मूल्य तिर्न, ट्याङ्कर र ट्रयाक्टर मर्मत गर्नसँगै चालकलाई तलब दिन पुग नपुग हुने गरेको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद भट्टराईले अब अल्पकालीन रुपमा भाडा तिर्ने गरी अर्को एउटा ट्याक्टर लिने सोचमा रहेको बताए ।
अघिल्लो वर्षभन्दा पनि यसवर्ष पानीको मुहान थुप्रै सुकेकाले गाउँपालिकाको कार्यालयमा पानीको माग गर्दै रसिद कटाउनेहरुको भीड बढेकोले ट्याक्टर भाडामै भएपनि लिन आवश्यक देखिएको बताए । गाउँपालिकामा एकैदिन १ लाख ५० हजार लिटरसम्म पानीको माग आउने गरेको जनाएको छ । तर गाउँपालिकालाई वडाबासीको पानीको माग धान्न मुस्किल पर्दै आएको छ । गाउँपालिकाले प्रति दिन २० हजार लिटरसम्म पानी वडाबासीलाई उपलव्ध गराउँदै आएको छ ।