रुढीबादी परम्परा तोड्दै आमाको काजकिरिया गर्न कोरामा बसिन् १२ बर्षिया छोरी
Uttari Morang
बाबुआमाको निधनपछि छोरीले छोरासरह काजक्रिया गर्नु हुँदैन भन्ने परम्परागत संस्कारलाई तोड्दै १२ बर्षिया एक छोरी छोरासरह आमाको काजक्रिया गर्न कोरामा बसेकी छिन् । 
मेचे समुदायको विरोधका बाबजुद पनि मेचीनगर–११ झापाकी १२ वर्षीया शर्मिला मेचे आमाको काजक्रियामा बसेकी हुन् । स्थानीय हँडिया खोलाको बगरमा सामान्य झुप्रो बनाएर मजदुरी गदैं आफ्नो र छोरीको जीविकोपार्जन गदैं आएकी ३९ वर्षीया शर्मिला मेचेको बिहीबार निधन भएको थियोे । उनको निधनपछि छोरी सबिना यतिखेर आफ्नो समुदायको पुरानो संस्कारलाई तोड्दै आमाको काजक्रियामा बसेकी छिन् ।
शर्मिला लामो समयदेखि मुटुको रोगबाट ग्रसित थिइन् । छिमेकीका अनुसार आमा बिरामी हुंदा छोरी सबिनाले साइकल चढाएर आमालाई उपचारका लागि लैजाने गरेकी थिइन् ।
शर्मिलाका बाबू भने लामो समयदेखि बेपत्ता छन् । श्रीमान् बेपत्ता भएपछि गिटी कुटेर र बालुवा चालेर शर्मिलाले छोरी सबिनाको हेरचाह गरी पढाई खर्च जुटाउँदै आएकी थिइन् ।
मेचे समुदायको संस्था मेचे सिवियारी आफतको सल्लाह बमोजिम सबिनालाई आमाको काजक्रियामा राखिएको आफतका सल्लाहकार तथा मेचीनगर नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सन्तोष मेचेले बताए । मेचे समुदायमा चेलीले कोरामा बस्नु हुँदैन भन्ने मान्यतालाई तोडेरै सबिनालाई काममा राखेको बताए उनले बताए ।
आर्थिक अवस्था ज्यादै न्यून भएको मृतकको परिवारमा अब सबिनाबाहेक अरु कोही पनि छैनन् । शर्मिलाको अन्त्येष्टी समेत छरछिमेकी र मेचे समाजको पहलमा भएको थियो । आफ्नी आमाको चितामा दागबत्ती पनि सबिनाले नै दिएकी थिइन् । मेचे समुदायमा आमाबाबुको काजक्रिया गर्दा १३ दिनसम्म सेतो कपडा लगाएर काम गर्नुपर्ने भए पनि सबिना नाबालक भएकै कारण आमाको काम ७ दिनमै सक्ने वडाध्यक्ष मेचेले बताए ।
स्थानीय बलभद्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत सबिना पढाइमा समेत निकै अब्बल रहेको विद्यालयले जनाएको छ ।
शुक्रबार सबिनाको घरमै पुगेकी मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरपालिकाले छलफल गरेर सबिनाका लागि सहयोग गर्ने बताइन् ।






