२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

धनकुटामा दुना टपरी प्रबर्द्धन गरिंदै, विद्यार्थीलाई सिकाउन थालियो दुना टपरी गांस्न

Author Uttari Morang
आइतबार, माघ १३, २०७५
धनकुटामा दुना टपरी प्रबर्द्धन गरिंदै, विद्यार्थीलाई सिकाउन थालियो दुना टपरी गांस्न

बढ्दो आधुनिकतासंँगै विवाह, ब्रतबन्ध र पूजाआजा लगायतका कार्यहरूमा प्रयोग गरिने दुना टपरी लोप हुुुँदै अर्थात हराउँदै गइरहेको बेला धनकुटामा दुुुना टपरी गांस्न सिकाउन थालिएको छ ।

धनकुटामा हाम्रो बहुमुखी पाठशालाले लैंगिक समानता र सामाजिक समावेशीकरणका लागि बालबालिका लक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम दिएर दुना टपरीको संरक्षणको पहल सुरु गरेको हो ।

विद्यार्थीहरूलाई परंंपरागत संस्कार र संस्कृतिका बारेमा ज्ञान दिलाउँदै किताबमा देखेका र पढेका कुरालाई व्यावहारिक शिक्षा दिलाउन यस्तो कार्यक्रम गरिएको हाम्रो बहुमुखी पाठशालाका संयोजक सरोज भुजेलले जानकारी दिए । हाल हिले मावि, भाषा मावि, गोकुण्डेश्वर मावि, गोकुण्डेश्वर बालमन्दिर मावि, त्रिवेणी मावि, तमोरभ्याली बोर्डिङ, दीप इंग्लिश बोर्डिङ, बालसंसार बोर्डिङ, तुलसी मेहर बोर्डिङका ३० जना छात्र छात्रालाई प्रशिक्षण दिइएको छ।

पछिल्लो समय नेपाली मौलिकता हराउँदै गएको र विद्यार्थीलाई रचनात्मक बन्नमा समेत सहयोग पुग्ने हुँदा दुना टपरी गाँस्ने सीप सिकाइएको प्रशिक्षक लक्ष्मीदेवी श्रेष्ठले बताइन्। हाल हाम्रो बहुमुखी पाठशालाले मौलिक चित्रकला, मौलिक नृत्य, मौलिक गीत-संगीत जस्ता परंरागत संस्कृतिको संरक्षणमा काम गर्दै आएर धनकुटामा पृथक पहिचान निर्माण गरिरहेको संयोजक भुजेलले दाबी गरे।

त्यसो त लोप हुँदै गइरहेको दुना टपरी धनकुटा नगरपालिकामा जोगाउने प्रयास शुरु गरिएको छ  ।  मठ मन्दिर तथा विवाह भोज, कर्मकाण्ड, ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजा लगायतमा विशेष प्रयोग हुने टपरीलाई उद्योगको रूपमा विस्तार गर्न सके रोजगारी सिर्जना, समाजिक र साँस्कृतिक विकासमा टेवा पुग्ने जानकारहरू बताउँछन्।

दुना टपरी बनाइने विभिन्न प्रजातिका पातमध्ये घोर्लाको पात, केराको पात र सालको पात विवाह, ब्रतबन्ध, पूजाआजा र श्राद्धमा शुद्ध रहेको मान्ने गरिन्छ। धार्मिक कर्मकाण्ड गराउदै आइरहेका धनकुटा- २ का दीपक निरौला अचेल कर्मकाण्डहरुमा दुना टपरीको प्रयोग कम हुँदै आइरहेको सुनाउँछन् । दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ बताउँछन् । दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ  आम्दानी गर्न सकिने उनको तर्क छ।

होटलमा ग्राहकलाई दुना टपरीमा राखेर परिकार दिने चलन बढे पनि धनकुटामा केही होटलबाहेक अन्य ठाउँमा दुना टपरी पाइन छाडेको छ ।

दुना टपरीमा अक्षता मुछेर टीका लगाइने प्रचलन विस्तारै हट्दै गएको छ। अहिले तामा तथा काँसको थालीमा अक्षता मुछ्ने चलन सुरु भएको छ। तर  ब्रतबन्ध, श्राद्ध, सत्यनारायण पूजालगायत धार्मिक अनुष्ठानहरूमा टपरीको महत्त्व अझै पनि घटेको छैन।