२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा

Author Uttari Morang
बिहिबार, फाल्गुण २३, २०७५
बेलबारीमा ट्राफिक प्रहरीको आफ्नै भवन बन्दै, निर्माण कार्य अन्तिम चरणमा

मोरङको बेलबारी १ दुर्गामन्दिर छेउमा ट्राफिक प्रहरी कार्यलयको भवन निर्माण भएको छ  ।

ट्राफिक प्रहरीको भवनका लागि अमना सिसौली सामुदायिक वन क्षेत्रमा रहेको ५ कठठा जग्गा प्राप्त भएपछि जग्गा पुर्नका लागि गत बर्ष बेलबारी नगरपालिकाले ४ लाख रुपैयाँ बिनियोजन गरेको थियो ।  गत बर्ष पुर्ने काम भएपछि यस बर्ष भवन निर्माणका लागि नगरपालिकाले १० लाख बजेट बिनियोजन गरेको र सो बजेटबाट भवन निर्माण भईरहेको भवन निर्माण समितिका अध्यक्ष प्रताप थापाले जानकारी दिए ।

नगरपालिकाले दिएको बजेट अपुग हुने भएपछि बिभिन्न दाताहरुसँग रकम संकलनको क्रम समेत शुरु गरिएको भवन निर्माण समितिका उपाध्यक्ष तथा आर्थिक संयोजक माधवराज थापाले जानकारी दिए ।  निर्माणधिन ६ कोठे भवनका लागि हालसम्म करिब २५ लाख खर्च भईसकेको समितिले जनाएको छ ।
ट्राफिक भवनमा ट्राफिक कार्यालयसँगै भान्साघर, शौचालय, फलैचा लगायत घेराबारा निर्माण सम्पन्न गर्न ६५ देखि ७० लाख खर्च हुने अनुमान गरिएको छ । पौष ५ गते प्रदेश १ का गृहमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेको भवनको पहिलो तलाको ढलान समेत सम्पन्न भईसकेको छ ।
प्रदेश १ का गृहमन्त्रीबाट भवन निर्माणका लागी शिलान्यासकै क्रममा १० लाख रुपैया सहयोग गर्ने बचन प्राप्त भएको र सोही रकम निकासाका लागि पहल समेत भईरहेको अध्यक्ष प्रताप थापाले बताए । उनका अनुसार  ढुंगा, गिटी, बालुवा दाताहरुबाट सहयोग प्राप्त भएको र बेलबारी नगर क्षेत्रका सामुदायिक बनहरुसँग काठ वा रकम सहयोग माग गरिएको छ ।

भवन निर्माण सम्पन्न गर्न समितिका पदाधिकारीहरुले ५१ हजार रुपैयाका दरले सहयोग गरिसकेका छन् । थप सहयोगका लागि बेलबारीका बिभिन्न ब्यक्ति तथा संघसंस्था लगायत दाताहरुबाट १५ देखि २० लाख रुपैयाँ सहयोग जुटाउने लक्ष्य लिइएको समिति उपाध्यक्ष तथा आर्थिक संयोजक माधव थापाले बताए । यसै आर्थिक बर्षभित्र भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समितिको योजना छ ।

प्रहरी कार्यालयको मापदण्ड अनुसार नै सो भवनको निर्माण भइरहेको र सहयोग जुटाएर सकेसम्म चाँडो  पहल भईरहेको समितिका सदस्य सचिब तथा ट्राफिक प्रहरी पोष्ट बेलबारीका प्रमुख लिलाकुमार श्रेष्ठले बताए ।