२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु

Author Uttari Morang
बिहिबार, चैत्र २८, २०७५
बिराटचोकमा पुर्वराजाको कार दुर्घटना, कारको ठक्करबाट एकजनाको मृत्यु

पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिएका सादा पोशाकका सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिंँदा  एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–९ का २२ वर्षीय हेम चौधरीको मृत्यु भएको हो । दुर्घघटनामा मोटरसाइकल चालक २२ वर्षीय प्रकाश चौधरी गम्भीर घाइते भएका छन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कारले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो  ।

बुधबार राति ८ बजे भएको दुर्घटनामा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये हेमको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा ९ बजे मृत्यु भएको हो । नोबेलमा उपचार सम्भव नभएपछि प्रकाशलाई थप उपचारका लागि विराट नर्सिङ होम लगिएको छ ।

टाउकोमा रगत जमेका कारण उनको टाउकोको शल्यक्रिया गरिएको र ४८ घण्टासम्म अब्जरभेसनमा राख्नु पर्ने चिकित्सकले बताएका छन् । शल्यक्रियामा गर्ने डा. विवेक वैद्यले चौधरीको अवस्था खतरामुक्त नरहेको जानकारी दिए ।

गाडी हिजो झापाको दमकबाट पूर्व राजासहितको टोलीको पिछा गर्दै विराटनगर विमास्थलसम्म आएको थियो । पूर्व राजा ज्ञानेन्द्र भने पत्नी कोमलसहित ११ जनाको टोलीका साथमा साँझ ६ः५० बजेको श्री एयरलायन्सको जहाजमार्फत विराटनगरबाट काठमाडौं प्रस्थान गरेपछि गाडी दमकतर्फ नै फर्किएको थियो ।

त्यही क्रममा निशान कम्पनीको कारले मोटरसाइकललाई ठक्कर दिएको हो । विशेष गरेर ज्ञानेन्द्र निर्मल निवासमा रहेका बेला र उहाँको भ्रमणका समयमा सुरक्षाका लागि सादा पोशाकमा रहने सशस्त्र प्रहरीले यो गाडीको प्रयोग गर्छन् । पूर्व राजा केही दिनदेखि पूर्व क्षेत्रको भ्रमणमा थिए । पूर्व बस्दा पूर्व राजाले शुभचिन्तक र समर्थकसँग भेटघाट तथा विभिन्न मन्दिरहरुमा पूजापाठ गरेका थिए ।

गाडीका चालक सशस्त्र प्रहरीका जवान दाङ घर भएका दीपेन्द्रप्रसाद लम्सालले कारमा सुट्केस र झोलामा कपडासहित पूर्व राजाको सचिवालयको सामान रहेको जानकारी दिएका छन् । पूर्व राजाको सचिवालयको सामानसहित बोकेर कार भोली काठमाडौं फर्कने तयारीमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा मोटरसाइकलसँगै ठक्कर दिने कारको अगाडि र साइडको भागमा पनि क्षति पुगेको छ । दुवै सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए । चालक सशस्त्रका जवान लम्साललाई सवारी ज्यान मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । – Bfm बाट