पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि
Uttari Morang

आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् ।
निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा फाइनल राउण्डमा पुगेका उत्कृष्ट १० (टप 10) प्रतिस्पर्धीलाई पछि पार्दै मोतेले बेलबारी आइडलको उपाधि जितेका हुन् । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै गीत रेकर्डिङको अबसर पाएका छन् ।
त्यसैगरी बेलबारी बेलबारी ३ की लक्ष्मी पौडेलले सुर सप्तक बेलबारी आइडलको सह बिजेताको उपाधि जितेका छन् । सह बिजेता पौडेलले १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् ।
त्यस्तै बेलबारी २ की अलिमा लिम्बु आइडलको उपबिजेता बनेकी छिन् । उप बिजेताले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । साथै सह बिजेता र उप बिजेताले पनि गीत रेकर्डिङको अबसर पाउने छन् । उत्कृष्ट १० जनालाई संयुक्त रु एउटा गीत गाउने अबसर मिल्नेछ ।
शनिबार भएको फाइनल राउण्डमा बेलबारी १ कुमारी बिकले हेरेको तिमीलाइ आँखाले होइन, बेलबारी ११ रबि दाहालले हजार आँखा हेर्ने मेरी मायालुलाइ, सोही वडाकी नविना पोख्रेलले नबोले नि तिम्रो कुरा, बेलबारी ४ बिवेश मोतेले आँखाको निद खोसी लाने, बेलबारी ६ इया राइले यस्तो पनि हुँदोरहेछ माया बोलका गीत गाएका थिए ।
त्यसैगरी छैठौं प्रतिस्पर्धीकाे रूपमा स्टेज आएका बेलबारी ३ की लक्ष्मी पौडेलले एउटा खुला किताब हुँ म, बेलबारी ४ की सुदिक्षा भट्टराईले डाली डाली फुल फुल्यो, बेलबारी ४ कै बिशाल मगरले मर्ने कसैलाई रहर हुँदैन, वडा नम्बर ८ प्रेरिका गुरागाइँले साउने झरीमा र बेलबारी २ की अलिमा लिम्बुले तिमी बिनाको जीवन गाढा भो बोलका गीत गाएका थिए । उनीहरू सबैलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले प्रमाणपत्र दिएका थिए ।
बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको आइडलका लागि गोकुलम रिसोर्टले प्रथम पुरस्कारका लागि २५ हजार, रमिते सामुदायिक वनले दोस्रो हुनेका लागि १५ हजार र सिद्धार्थ सेकेण्डरी स्कुल, बागदेवी सामुदायिक वन उपभोक्ता समुहले पाँच पाँच हजार सहयोग गरेका थिए ।
श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङको सभापतित्वमा भएको आइडलको फाइनलमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि थिए । आइडलको फाइनल कार्यक्रम स्रष्टा समाजका सचिव जेवी थुलुङले संचालन गरेका थिए ।
प्रतियोगितामा प्राज्ञ तथा संगीतकार राम धामी, संगीतकार भिम बस्नेत, पुर्व सांसद तथा गायिका मधु गुरुङ, गायक किशोर थुलुङ र संगीतकार शेखर थापा मगरले निर्णायकको भुमिका निभाएका थिए । प्रतियोगिताको निर्णय सुनाउनु अघि संजीव धिमालले केही गीत सुनाएका थिए । निर्णायकको तर्फबाट गायक किशोर थुलुङले २७ बर्षअघि गाएको खोकु छिन्ताङ दुख्यो कि बोलको गीत सुनाएका थिए ।
प्रतियोगीहरुलाइ पाँच वटा गीत रेकर्डिङको अबसर दिइने आयोजक श्रष्टा समाजले जनाएको छ । गीत रेकर्डिङका लागि संगीतकारहरु भिम बस्नेत, शेखर थापा मगर, बिनोद खम्बु, बिशाल हुमागाइँ, मिलन राई र मोडल अमर खड्काले सहयोग गर्ने भएका छन् ।
शुरुको अडिसन चरणमा करिब डेढ सय सहभागी भएकोमा बैशाख १८ र २१ गते वडा वडामा भएको पहिलो अडिसनबाट २७ जना छनौट भएका थिए । दोस्रो चरणमा जेठ २५ गते भएको दोस्रो अडिसनबाट उत्कृष्ट १० जना छनौट भएका थिए । उत्कृष्ट १० लाई एक महिने प्रशिक्षण समेत दिएको थियो । प्रशिक्षण पाएका उत्कृष्ट १० जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।






