२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती

Author Uttari Morang
शुक्रबार, कार्तिक २२, २०७६
आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती

आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् ।

टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले  यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् । 

नगरपालिकाले गठन गरेको टोल बिकास संस्थाले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरू टोल सरसफाइदेखि सडक बत्ति ब्यबस्थापन र लामखुट्टे नियन्त्रण गर्ने अभियानमा छन् ।

अभियान अन्तरगत स्थानीय बासिन्दाले बेलबारी ३ को आर्यघाटदेखि  पशु हटिया चौरी हुँदै राजमार्गसम्म सरसफाइ गरेका छन् । करिब चालीस पचास जनाको संख्यामा भेला भएका उनीहरूले सडकमा रहेका फोहोरजन्य तथा अन्य सामग्री हटाएका छन् । उनीहरूले सडकको दायाँबायाँ रहेका र सडकलाई असर गर्ने झाडी र बोट बिरुवाका हाँगाबिंगा समेत गोडमेल गरेका छन् । उनीहरूले जलाउन मिल्ने फोहोर जलाएका छन् भने अन्य फोहोरलाई ब्यबस्थित गरेका छन् ।

सडक तथा टोल सरसफाइ गर्ने क्रममा उनीहरू स्थानीय बासिन्दालाई सडकमा फोहोर नफाल्न आग्रह गरिरहेका देखिन्थे । तर राजमार्ग छेउमा रहेकोे प्रताप थापाको घरबाट घरायसी प्रयोजनमा प्रयोग भएको पानीको फोहोर सडकमा नै झरिरहेको देखेपछि उनीहरू आपसमै ओठ लेप्र्याउँदै घरबेटीलाई गिज्याइरहेका देखिन्थे । कतिपय नेता र समाजको अगुवा हुँ भन्नेहरु नै गैह्र जिम्मेवार भई हेलचेक्र्याइँ र लापरबाही गर्दा टोलको सरसफाइ र बिकासमा अबरोध भएको गैरीटोल टोल सुधार समितिका अध्यक्ष श्याम गौतमले बताए । सरसफाइ अभियान साप्ताहिक रूपमा र निरन्तर चल्ने टोल सुधार समितिले जनाएको छ । 

टोलबासीले हटिया क्षेत्र लगायत सो टोल र आसपासका क्षेत्रमा सडक बत्ती नभएको भन्दै देउसीबाट संकलन भएको पैसाले सडक बत्ति बाल्ने योजना समेत बनाएका छन् । खासगरी सोमबारका दिन लाग्ने पशु हटियामा धेरै गाडीहरू आउने र चहलपहल हुने र बुढीगंगापछि मोरङकै प्रख्यात घाट भएपनि त्यस क्षेत्रमा सडक बत्ति समेत नभएकोले सरकारी निकायको भर नपरी टोलबासीहरु स्वत स्फुर्त रूपमा जुटेको स्थानीय कुमार घिमिरेले बताए ।  सरकारले खोलाबाट करोडौं आम्दानी गरेपनि खोला किनारमा रहेको घाट ब्यबस्थित गर्न र सडक बत्ति राख्न ध्यान नदिएको उनले बताए । 

अव्यवस्थित र होचा ठाउँमा बिजुलीका तारहरु रहेकोले पोल अग्ला बनाएर बिजुलीका तार ब्यबस्थित गर्न विद्युत प्राधिकरणलाई आग्रह गरिएकोले तार ब्यबस्थापन गरेर सडक बत्ति राखिने अध्यक्ष गौतमले बताए । 

टोलबासीले लामखुट्टे नियन्त्रणका लागि टोलमा औसधि हान्ने योजना समेत बनाएका छन् । नगरपालिकाले एक दुई पटक लामखुट्टेको औषधि हानेपनि प्रभावकारी नभएको र टोलमा केही ब्यक्तिलाइ डेंगुको संक्रमण देखिएकोले औषधिका लागि स्थानीय बासिन्दाबाट रकम संकलन भइ रहेको र बिहीबारसम्ममा तीन हजार रुपैयाँ संकलन भइ सकेको गौतमले बताए । – अम्बिका भण्डारी