२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी

Author Uttari Morang
बिहिबार, मंसिर ०५, २०७६
माल्दिभ्स पठाउंँछु भन्दै ५० लाख ठगेर मोरङकी महिला बेपत्ता, श्रम कार्यालयमा उजुरी

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै  मोरङकी एक महिलाले ५० जनासँग ५० लाख रुपैयाँभन्दा बढी ठगी गरेको उजुरी परेको छ ।

मोरङको सुन्दरहरैंचा नगरपालिका–१० विराटचोकमा बसोबास गर्दै आएकी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) ५० जना युवाबाट रकम कुम्ल्याएर फरार भएकी  भन्दै श्रम तथा रोजगार कार्यालय विराटनगरमा उजुरी दि। कात्तिक तेस्रो सातबाट उनी सम्पर्कविहीन बनेपछि पीडितहरुले श्रम कार्यालय बिराटनगरमा प्रमाण सहित उजुरी दिएका छन् ।

उजुरी अनुसार लक्ष्मीले ५० जनासँग प्रतिव्यक्ति एक लाख  रुपैयाँ ठगी गरेको पाइएको छ ।

पीडित युवाहरुको उजुरीका आधारमा श्रेष्ठ कार्यालयले कारबाही अघि बढाएको छ । विदेश पठाउने नाममा ठगी धन्दा चलाएर ठूलो रकम हात पार्दै आफै विदेश भाग्न सक्ने भनेर युवाहरुले लक्ष्मीको एयरपोर्ट रोक्काको माग गरेर उजुरी दिएका हुन् । उजुरी परेपछि पासपोर्ट नम्बर ०८६२४३९५ रहेकी लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले बताए ।

लक्ष्मीले आफ्नो बैंक खातामै रकम पठाउन लगाएको प्रमाण कार्यालयमा प्राप्त भएको उनको भनाइ छ । ‘वैदेशिक रोजगारी सम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितहरुको आग्रहमा एयरपोर्ट रोक्का गरिएको हो,’ सञ्जेलले भने, ‘थप कारबाहीका लागि तत्काल अरु प्रक्रिया अघि बढाइने छ ।’ पीडितहरु झापा, मोरङ, सुनसरी लगायतका छन् ।

पीडितहरुकाअनुसार श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएका छन् । वैदेशिक रोजगारीमा पठाउने भन्दै पैसा उठाउने विषयमा असहमति जनाउँदा श्रीमतीसँग पारिवारिक कलहसमेत उत्पन्न भएको जानकारी रुपेशले दिएको पीडितको भनाइ छ । पीडित मध्येका सुन्दरहरैंचा–१२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरुलाई मालदीभ्सबाटै सागर भनिने बुद्धिसागर अधिकारीले प्रलोभन देखाएको बताए ।

धनकुटा घर भएका अधिकारीले रिसोर्टमा सेक्युरिटी गार्ड लगाइदिने भन्दै लक्ष्मीको बैंक खातामा पैसा जम्मा गरिदिनु भनेको जानकारी उनले दिए । लक्ष्मीसँग भेटघाट भएर कुरा मिलेपछि सबै जनाले उनको सनराइज बैंकमा रहेको खाता नम्बरमा पैसा हालिदिएको कोइरालाको भनाइ छ । त्यसपछि गत असोज ६ गते मात्रै आफूलाई अधिकारीले जेनिथ ग्रुपका मेनेजर बताउने दीपक मैनालीको सानीमा बैंक नक्साल काठमाडौंको खातामा समेत थप एक लाख रुपैयाँ हाल्न लगाएको उनको भनाइ छ । पैसा पठाइदिएपछि अधिकारी पनि सम्पर्कविहीन रहेको कोइरालाले बताए ।

मासिक सात लाख अमेरिकी डलर तलव पाउने गरी दुई महिना भित्रमा मालदीभ्स पठाउने भनेर २०७५ माघमा आफूहरुसँग पैसा लिएको उनको भनाइ छ । लामो समयसम्म विदेश पठाउन नसकेको कुरा उठाउन थालेपछि पैसा उठाउने महिलानै वेपत्ता बनेको कोइरालाले बताए । मालदीभ्समा रहेका अधिकारी पनि अहिले सम्पर्कविहीन रहेको उनको भनाइ छ । मालदीभ्स पु¥याइसकेपछि भने तीन लाख ५० हजार रुपैयाँ तिर्नु पर्ने सर्त राख्दै सुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाइएको पीडित मध्येका सुन्दरहरैंचा–१२ का तुलबहादुर श्रेष्ठले बताए ।

अधिकारी सम्पर्कविहीन बनेको भन्दै पीडितहरुलाई लिएर लक्ष्मी काठमाडौंस्थित श्रम विभागमा समेत अधिकारीका विरुद्ध उजुरी गर्न पुगेकी थिइन् । तर विभागले अधिकारीका नाममा पैसा पठाएको कुनै प्रमाण नभएका कारण जसको खातामा पैसा पठाइएको छ उसैलाई कारबाही हुने जवाफ दिएको पीडित कोइरालाले बताए ।