२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

Author Uttari Morang
मंगलबार, पुष ०१, २०७६
सकियो दोस्रो सुन्दरहरैंचा प्याब्सन स्पोर्टस मिट, ब्राइट फ्युचर बन्यो च्याम्पियन

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको दोस्रो प्याब्सन स्पोर्टस मिट २०७६ मा सुन्दरहरैंचा ८ सलकपुरमा अबस्थित ब्राइट फ्युचर बोर्डिङ स्कुल पहिलो भएको छ ।

सुन्दरहरैंचा क्षेत्रका २२ वटा संस्थागत विद्यालय सहभागी भएको प्रतियोगिताका विभिन्न खेलमा सबैलाई उछिन्दै ब्राइट फ्युचर पहिलो भएको हो ।

कुल २६ वटा खेल खेलमा प्रतिस्पर्धा गराइएको प्रतियोगितामा ५ सयभन्दा बढी खेलाडी सहभागी थिए । प्रतियोगितामा सुन्दरहरैंचा– ६ को पूर्वाञ्चल एकेडेमी दोस्रो भएको छ ।  त्यस्तै सिदार्थ स्कुल खोर्साने  सुन्दरहरैंचा– १०  ले तेस्रो स्थान र वालसदन एकेडेमी सुन्दरहरैंचा ९   ले सान्त्वना स्थान हात पारेका छन् ।

त्यसैगरी  पुरुष भलिबल खेलतर्फ लभ्ली एन्जल्स मृगौलियाले उपाधि जितेको छ । भलिबलमा सुविजीमुर स्कुल विराटचोक उपविजेता भएको छ।

महिला भलिबल खेलतर्फ ब्राइट फ्युचर बोर्डिङ स्कुलले उपाधि जितेको छ भने श्री इन्द्रपुर बोर्डिङ स्कुल सुन्दरहरैंचा १२ ले उपविजेता भएको छ ।

विजयी विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचाकी उपप्रमुुख धनमाया तामाङले शिल्ड तथा प्रमाणपत्र प्रदान गरिन् । स्पोर्टस् मिटको सोमबार भएको समापन कार्यक्रममा प्याब्सनको केन्द्रीय समिति सदस्य हेमन्त कार्की, प्रदेशका वरिष्ठ उपाध्यक्ष टीका ढकाल लगायतको उपस्थिति थियो ।