२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मोरङको कानेपोखरी सहित पुर्वका ११ स्थानीय तहलाई प्रदेश सरकारले दियो दमकल

Author Uttari Morang
बिहिबार, आश्विन २९, २०७७
मोरङको कानेपोखरी सहित पुर्वका ११ स्थानीय तहलाई प्रदेश सरकारले दियो दमकल

प्रदेश १ सरकारले ११ वटा स्थानीय पालिकालाई प्रहरी भ्यान र वरुणयन्त्र दिएको छ ।
प्रदेेेश सरकारले ५ करोड ६७ लाख २० हजार लागतमा खरिद गरिएका ११ वटा वारुण यन्त्र र ६ करोड २८ लाख २७ हजार ४६० रुपैयाँ बराबरको प्रहरी भ्यान बिहीबार हस्तान्तरण गरेको हो । प्रदेश सरकारले प्रदेशका १४ जिल्लाका एक–एक वटा स्थानीय पालिकामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गरेको छ । सो केन्द्रका लागि एक थान वारुण यन्त्र र एक थान प्रहरी भ्यान हस्तान्तरण भएको हो । केन्द्रका लागि एम्बुलेन्स पनि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।
स्थानीय पालिकाका प्रमुख तथा प्रतिनिधिलाइ मुख्यमन्त्री शेरधन राईले दमकल र प्रहरी भ्यानको चाबी हस्तान्तरण गरेका थिए । १४ वटै जिल्लामा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालन गर्ने प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र एकीकृत शान्ति सुरक्षा, विपद र स्वास्थ सेवा सञ्चालन गर्ने उद्देश्यका सञ्चालन भएको उनले बताए ।
केन्द्र रहेको पालिकाको प्रमुखको अध्यक्षतामा सेवा केन्द्र सञ्चालन समिति रहनेछ । केन्द्रमा प्रयोग भएका सवारीको इन्धन र मर्मत पालिकाले व्यहोर्ने छ । जनशक्तिको व्यवस्थापन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नेछ ।
प्रदेश सरकारले बिहीबार सुनसरीको कोशी गाउँपालिका, मोरङको कानेपोखरी गाउँपालिका, झापाको कमल गाउँपालिका, इलामको देउमाई नगरपालिकालाई वरुणयन्त्र र प्रहरी भ्यान हस्तान्तरण गरेको हो ।
त्यस्तै पाँचथरको फिदिम नगरपालिका, तेह्रथुमको आठराई गाउँपालिका, धनकुटाको धनकुटा नगरपालिका, भोजपुरको हतुवागडी गाउँपालिका, खोटाङको खोटेहाङ गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका, उदयपुरको रौतामाई गाउँपालिकालाइ पनि हस्तान्तरण गरेको छ । तीन जिल्लाका तीनवटा पालिकालाई केही समयपछि हस्तान्तरण गर्ने प्रदेश सरकारको तयारी छ ।