२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

प्रदेश ३ तिर पनि लोकप्रिय बन्दै डा. शर्मा, नुवाकोटका ३४ सयको निःशुल्क उपचार

Author Uttari Morang
मंगलबार, चैत्र १०, २०७७
प्रदेश ३ तिर पनि लोकप्रिय बन्दै डा. शर्मा, नुवाकोटका ३४ सयको निःशुल्क उपचार

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नुवाकोटको सूर्यगढी गाउँपालिकामा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ३ हजार ४ सय २ जना बिरामीले निःशुल्क उपचार पाएका छन् ।

सूर्यगढी गाउँपालिकासँग सहकार्य गरेर केएमसीले सूर्यगढी गाउँपालिका–३ मा तीन दिने निःशुल्क स्वास्थ्य  शिविर सञ्चालन गरेको हो ।

       बिहिबारदेखि शनिवारसम्म सञ्चालित शिविरमा ७ सय १ जनाको ल्याब टेष्ट, ५ सय ९५ जनाको भिडियो एक्सरे र ४ सय ९४ जनाको इसीजी गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा विशेषज्ञ डाक्टरहरुले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा, दन्त, हाडजोर्नी तथा नसा, छाला, मानसिक रोग लगायत समस्याका बिरामीको उपचार गरेका छन् । ३८ जना बिरामीको शिविरमै सामान्य शल्यक्रियासमेत गरिएको छ ।

       त्यस्तै, शिविरमा अप्रेशन सम्भव नभएका, जटिल शल्यक्रिया गर्नुपर्ने बिरामीलाई अस्पताल रेफर गरिएको छ । शिविरबाट आउँने बिपन्न बिरामीहरुलाई अस्पतालमा ५० प्रतिशत छुटमा शल्यक्रिया गरिने काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए ।

       डा.शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेपछि पछिल्लो समय अस्पतालले बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइरहेको छ । गरिब तथा बिपन्न बिरामीलाई निःशुल्क उपचारका लागि स्वास्थ्य शिविर सञ्चालनलाई निरन्तरता दिइने डा.शर्मा बताउँछन् ।

नेता महतले गरे डा. शर्माको प्रशंसा

यता, शिविर उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता डा.रामशरण महतले काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.शर्माको सेवा भावको प्रशंसा गरेका छन् ।

नुवाकोटसम्म डाक्टरको टोली पठाएर बिरामीहरुलाई निःशुल्क उपचार गर्ने वातावरण मिलाइदिएको भन्दै नेता महतले डा.शर्माको प्रशंसा गरेका हुन् । ‘काठमाडौं मेडिकल कलेजका प्रमुख डा.सुनिल शर्मा हाम्रो मित्र हो, उहाँलाई आग्रह गरेर हामीले शिविर गराएका हौं,’ मन्तब्यका क्रममा नेता महतले भने ‘डा. सुनिलले यहाँ उपचार हुन नसक्ने बिरामीलाई पनि अस्पतालमा छुट गरेर उपचार गराउने भन्नु भएको छ । यो महत्वपूर्ण योगदानका लागि डा.सुनिल शर्मासहित अस्पतालको टिमलाई हामी बिशेष धन्यवाद ।’

       बिराटनगरस्थित नोबेल अस्पतालका सञ्चालकसमेत रहेका समाजसेवी डा.शर्माले पूर्वी नेपालमा पनि बर्षौं अघिदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराउँदै आएका छन् । डा.शर्माले निःशुल्क उपचार गरेर हजारौं गरिब तथा बिपन्न बिरामीको ज्यान बचाएका छन् ।