२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

झण्डै एक करोड सकिँदा पनि पुल नबनेपछि मिक्लाजुङमा सालका रुखबाट बनाइयो पुल

Author Uttari Morang
मंगलबार, साउन १२, २०७८
झण्डै एक करोड सकिँदा पनि पुल नबनेपछि मिक्लाजुङमा सालका रुखबाट बनाइयो पुल

मोरङको मिक्लाजुङ-५ को सोल्टी खोलामा बन्नुपर्ने पुल साडे ३ वर्षमा पनि नबनेपछि सालका रुख ढालेर पुल निर्माण गरिएको छ ।

साढे ३ वर्षमा न पुल बनेको छ, न त हिसाव सार्वजनिक भएको छ । ८८ लाख रुपैयाँ सकिएको भनिएको पुलको पिलर बाहेक अरु केही बनेको छैन । शिलान्यासको बेला स्थानीय टेकबहादुर राई उपभोक्ता समितिको अध्यक्ष थिए । पुल बनाउने कामले गति लिने छाँट नदेखिएपछि उनले अध्यक्षबाट राजीनामा दिए ।त्यसपछि बुद्धिमान श्रेष्ठको अध्यक्षतामा अर्को उपभोक्ता समिति बन्यो । त्यो उपभोक्ता समितिले पुलको दुबै तर्फ पिल्लर त बनायो तर पैसा सकिएको भन्दै काम गर्न छोड्यो । उपभोक्ता समितिका अध्यक्ष बुद्धिमान श्रेष्ठले खोलाको दुई तर्फ पिल्लर लगाउँदा मात्र ८८ लाख रुपियाँ खर्च भएको बताए । प्रदेश सरकारले ५० लाख रुपियाँ दिने भनेकोमा २८ लाख रुपियाँ मात्र दिएको श्रेष्ठले बताए ।

पुल निर्माणको हर्ताकर्ता उपभोक्ता समिति  सचिव भएको र उनले अह्राए अनुसार काम भएको श्रेष्ठले बताए । उपभोक्ता समितिका सचिव शंकर बज्गाई पटकपटक फाेन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले दिएको जानकारी अनुसार गाउँपालिकाले ३० लाख र ५ नं. वडा कार्यलयबाट ५ लाख विनियोजन गर्ने कार्यक्रम तय भएपछि पुल निर्माण सुरु भएको थियो । त्यसैगरी वरडाँडा सामूदायिक वनले १० लाख रुपियाँ, गौमति सामूदायिक वनले १० लाख र धानखेती सामूदायिक वनले ५ लाख रुपियाँ पुल निर्माणका लागि बिनियाेजन गरेका थिए । गाउँपालिकाको लागत अनुमान भन्दा १० लाख रुपियाँ कमी भएपनि निर्माणका क्रममा अपुग रकम गाउँपालिकाले थप्ने योजना थियो । शिलान्यासका क्रममा मन्त्री आङ्वोले ५० लाख रुपियाँ प्रदेश सरकारले दिने घोषणा गरेपछि स्थानीयबासीको मुहार उज्यालो भएको थियो । प्रदेश सांसद साम्वाले प्रदेश सरकार मार्फत ५० लाख रुपियाँ जुटाउन सहयोग गरेको स्थानीय बताउँछन् ।

।उता गाउँपालिकाका अध्यक्ष आचार्यले इन्जिनीयरले दुई तर्फको पिल्लरको दुरी ७० फिट भन्दा बढी भएको अवस्थामा बीचमा अर्को पिल्लर नराखी ढलाई हाल्न नसकिने बताएपछि निर्माण कार्य रोकिएको दाबी गरे । सुरुमा ७० लाखमा बन्छ भनिएको पुलमा पिलर थप्नुपर्ने भएपछि लागत खर्च बढेको भएपनि शुरुमा कसरी प्राविधिक त्रुटि भयो भन्नेबारे आफू अनभिज्ञ रहेकोे आचार्य  बताउँछन् ।

पुल नबन्दै बजेट सकिएपछि स्थानीयले भीमप्रसाद गौतमको अध्यक्षतामा अर्को समिति बनाएका थिए  । गौतमको समितिले अघिल्लो समितिको हिसाव माग गर्दा पहिलेको उपभोक्ता समिति, गाउँपालिका र प्रदेश सरकार कतैबाट हर हिसाब नआएको  गौतमले बताए । सरकारी बजेट कागजपत्र मिलाएर तत्कालीन उपभोक्ता समितिले हिनामिना गरेको स्थानीय बासिन्दाको बुझाइ छ ।

सोल्टी खोलाको आरसीसी पुलले उत्तर-पूर्वी मोरङको साविककाे जाँते ३ काे धानखेतीसँग साेही गाउँका गुप्ती र खोलीटारलाई जोड्छ । राज्य पुन संरचना पछि मिक्लाजुङ ५ मा समाहित भएको धानखेती ,गुप्ती र खाेलिटार क्षेत्रका धेरैलाई वर्षायाममा खोला तर्दा सोल्टी खोलाले बगाइसकेको छ । हरेक निर्वाचनमा चुनावी मुद्धा बन्ने गरेको सोल्टी खोलाको पुल त्यसक्षेत्रका वासिन्दा लागि बिकासको मेरुदण्ड मानिन्छ ।

गाउँपालिकाकाे प्राथमिकताकाे सुचीमा रहेकाे साेल्टी खाेलामा पुल हाल्ने कुरा ठुला पार्टीले आफ्नो घाेषणा पत्रमा उल्लेख गरेका थिए । प्रदेश सरकार गठन भएको वर्ष दिन नबित्दै प्रदेश सांसद कुलप्रसाद साम्वाकाे अगुवाइमा तत्कालिन आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पुलको शिलान्यास गर्नु भएको थियो । स्थानीय तीन वटा सामूदायिक वन र गाउँपालिकाको साझेदारीमा निर्माण गर्ने तय भएको पुलका लागि प्रारम्भिक चरणमा गाउँपालिकाका प्राविधिकले ७० लाख रुपियाँ खर्च हुने अनुमान गरेका थिए ।सोल्टी खोलामा पुल नबनेपछि यति बेला अस्थायी पुल निर्माण गरिएको छ ।  दुई वटा ४८ इन्ज गोलाईका सालका रुख दुईपट्टिका पिल्लरमा तेर्साइएको छ । ७० फिट लम्बाईको पुलमा तेर्साइएका तिनै रुख माथि ९ फिट लम्बाई र डेढ ईन्च बाक्ला सालका तखती लगाएर पुल निर्माण गरिएको छ । टेम्पो, मोटरसाइकल सम्म गुड्न सक्ने पुलको बीचमा अर्को झण्डै ५० इन्ज गोलाई भएको सालको रुख ठड्याएर पिल्लर बनाइएको छ । पुलको दुबै तर्फ काठकै बेरा लगाएर रङ्ग रोगन समेत गरिएको छ । स्थानीयले अहिले त्यो पुललाई सेल्फी पुल भन्न थालेका छन् ।