२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

ट्राईबेकरमा च्यासल यूथ क्लबलाई हराउँदै रोलिङ क्लब झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

Author Uttari Morang
बिहिबार, कार्तिक ११, २०७८
ट्राईबेकरमा च्यासल यूथ क्लबलाई हराउँदै रोलिङ क्लब झापा बेलबारी गोल्डकपको सेमिफाइनलमा

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा च्यासल यूथ क्लब काठमाडौँलाई ट्राईबेकरमा ४-३ ले पराजित गर्दै रोलिङ क्लब धुलाबारी झापा विजयी भएको छ ।

खेल सुरु भएको १२ मिनेटमै च्यासलका रुपेस वर्तौलाको पासमा सुसन लामाले गोल गर्दै गोलको खाता खोलेका थिए । पहिलो हापको निर्धारित समयावधि भर दुवै टीमले थप कुनै गोल थप्न सकेनन् । दोस्रो हाफको २२ औँ मिनेटमा झापाबाट खेलेका विदेशी खेलाडी हेन्थी वेलेले वान इन वान गोल गर्दै खेललाई बराबरीमा पुर्‍याए । निकै प्रतिस्पर्धात्मक रहेको खेलको निर्धारित र अतिरिक्त समयमा पनि दुबै टिमले दोस्रो गोल थप्न नसकेपछि खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको निर्धारित समयमा दुवैतर्फ पटकपटक गोल गर्ने अबसर मिलेपनि थप गोल हुन सकेन ।

पहिलो जितसँगै रोलिङ क्लव धुलाबारी सेमिफाइनल प्रबेस गरेको छ भने च्यासल प्रतियोगिताबाट नै बाहिरिएको छ ।

त्यसपछि भएको ट्राईबेकरमा रोलिङ क्लब धुलाबारीले चार गोल गर्न सफल भएपनि च्यासल यूथ क्लबका खेलाडीले तीन गोल मात्रै गरे । उद्घाटन खेलको म्यान अफ दि म्याच रोलिङ क्लब धुलाबारी झापाका गोल रक्षक मनोज प्रधान घोषित भए ।

दोस्रो खेलमा शुक्रवार सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र भारतको रोयल फुटबल क्लब सिलिगुडी बिच प्रतिस्पर्धा हुनेछ ।

बेलबारी ११ स्थित लक्ष्मी खेलमैदानमा जारी प्रतियोगितामा एपिएफ काठमाडौँ, हिमालयन शेर्पा र च्यासल काठमाडौँ , मोरङ, धनकुटा, उदयपुर, झापा र रोयल फुटबल क्लब सिलिगुडी जस्ता ८ वटा ए डिभिजन क्लबहरू सहभागी छन् ।

बेलबारी नगरपालिकाको सहयोग र बुद्ध एयरको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा विजेता टिमले पाँच लाख र उपविजेता टिमले दुई लाख ५० हजार रूपैयाँ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगिता अन्तरगत प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार पाँच सय, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३१ हजार, सर्वाधिक गोलकर्ताले २१ हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिल्डफिल्डर, स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले ११-११ हजार रूपैयाँ नगद पुरस्कार पाउने छन् ।
आयोजकका खेलाडीलाई आवतजावतको लागि दुईतर्फी रूपमा रात्रिकालीन यातायात खर्च व्यवस्था गरिने भएको छ । पहिलो खेलमा सहभागी भएर बाहिरिने टिमलाई १५ हजार र त्यसपछि प्रत्येक टिमलाई २० हजार रूपैयाँका दरले सहयोग गरिने र खेलाडीलाई खान, बस्न र दैनिक भत्ताबापत एक हजार तीन सय रूपैयाँ दिइने आयोजक साँगीहाट युथ क्लबका सचिव शम्भु बस्नेतले बताए ।

प्रतियोगितामा ४० लाख रूपैयाँ खर्च र ४५ लाख रूपैयाँ आम्दानी हुने अनुमान गरिएको क्लबले जनाएको छ । प्रतियोगिताबाट नाफा भएको रकम खेलाडी उत्पादन र विभिन्न सामाजिक काममा खर्च गरिने आयोजक डाँगीहाट युथ क्लबका अध्यक्ष बिक्रम राइले जानकारी दिए ।