मोरङ ३ बाट सुनिल शर्मा फेरि बन्ने भए उम्मेद्वार, यस्तो छ जित्ने आधार
Uttari Morang
नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि मोरङ-३ बाट सुनिल शर्मालाई उम्मेदवार बनाउन सिफारिस गर्ने निर्णय गरेको छ ।
काँग्रेसको क्षेत्रीय समितिले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। गठबन्धनको भागबन्डामा मोरङ-३ कांग्रेसको भागमा नपरेमा बेग्लै कुरा नत्र शर्मा नै यो क्षेत्रमा उम्मेदवार हुने गठबन्धन समेतको उम्मेद्वार हुने पक्कापक्की भएको छ ।
कांग्रेसमा नेता शेखर कोइराला निकट शर्मा २०७४ को निर्वाचनमा पनि यो क्षेत्रबाट उम्मेद्वार थिए । नोबेल मेडिकल कलेजका संचालक समेत रहेका शर्माले चुनाव हारेपनि मोरङ क्षेत्र नम्बर ३ का जनताका लागि नि:शुल्क एम्बुलेन्स तथा बिशेष छुटसहित उपचार सेवा सञ्चालन गर्दै आएका छन् ।
शर्माले यस निर्वाचन क्षेत्रका कोही बिरामी भएमा जुनसुकै दलको भएपनि एम्बुलेन्स पठाएर हस्पिटल पुर्याइ उपचार गरिदिने गरेका छन् ।
यस क्षेत्रमा एमालेबाट यसअघि शर्मालाई पराजित गर्दै चुनाव जितेका सांसद भानुभक्त ढकाल नै एमालेबाट उम्मेदवार बन्ने लगभग निश्चित भएको एमाले नेताहरू बताउँछन्ब। ‘टुरिष्ट उम्मेद्वार’ भनेर आलोचना खेपेका ढकालले बिराटचोकमा घर बनाइरहेका छन्। यही क्षेत्रबाट राप्रपाले अभिनेत्री रेखा थापाको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरिसकेको छ।
२०७४ मा एमाले र माओवादी मिलेर चुनाव लड्दा जम्मा १९ सय मतान्तरले हारेका शर्मा यसपटक पाँच दलीय गठबन्धनको बलमा सजिलै चुनाव जितिने आशमा छन् ।
यो क्षेत्रमा मोरङको कानेपोखरी गाउँपालिका, बेलबारी र सुन्दरहरैंचा र पथरी शनिश्चरेका केही वडा पर्छन। गत स्थानीय चुनावमा यो क्षेत्रका २६ वटा वडामध्ये एमालेले १४ वडामा जितेको छ भने कांग्रेसले ११ वडा जितेको छ। एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । स्थानीय चुनावको मतलाई आधार मान्दा काँग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गरी ४६ हजार ६ सय ७ मत छ भने एमालेको ३७ हजार ४ सय १० मत छ। त्यस्तै राप्रपासँग २ हजार १ सय्ब२१ मत छ।






