२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

पक्राउ पुर्जी जारी भएपछि गायब भए कांग्रेस बेलबारीका सभापति

Author Uttari Morang
बुधबार, आषाढ २०, २०८०
पक्राउ पुर्जी जारी भएपछि गायब भए कांग्रेस बेलबारीका सभापति

मोरङको बेलबारी नगरपालिका – १० को सिर्जना सामुदायिक वनको ९ सय ५५ क्युफिट काठ घोटाला गरेको आरोप लागेपछि वनका पुर्वअध्यक्ष तथा नेपाली कांग्रेस बेलबारीका सभापति छत्र लिम्बु  सम्पर्कबिहिन भएका छन ।
डिभिजन वन कार्यालयले लिम्बु विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । लिम्बुले सामुदायिक वनको १७ लाख ५५ हजार मूल्य बरावरको ९ सय ५५ क्यूफिट काठ अनियमितता गरेको आरोपमा डिभिजन वन कार्यालय मोरङले १४ असारमा उनी विरुद्ध मोरङ अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएपछि लिम्बु सम्पर्क बिहिन अबस्थामा रहेका छन ।
लिम्बुलाई पक्राउ गर्न डिभिजन वन कार्यालयले इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्राचार गरेको छ । तर, प्रहरीले अहिलेसम्म उनलाई पक्राउ पर्न सकेका छैनन । डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी राम लखन ठाकुरले सामुदायिक वनको काठ अनियमितता गर्ने लिम्बुको खोजी कार्य तीव्र बनाएको बताए ।
डिभिजन वनले लिम्बुलाई सामुदायिक वनको काठ अनियमित तरिकाले विक्री वितरण गरी आर्थिक हिनामिना गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको हो । डिभिजन वन कार्यालय मोरङले बनाएको छानबिन समितिको प्रतिवेदन अनुसार लिम्बुले सामुदायिक वन भित्रको घाटगद्धीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ आफूखुसी विक्री गरी सामुदायिक वनको साढे १७ लाख बढी रकम आर्थिक अनियमितता गरेको पाइएको हो ।
अनियमितताको आरोप लागेको लिम्बु नेपाली काँग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारी समाल्दै आएका छन् । २०७९ साउनमा अध्यक्ष लिम्बुले वनको घाट गद्धीमा रहेको काठ आफूखुसी उपभोक्ताहरूलाई बिक्री गरेको फर्जी बिल देखाएर अनियन्त्रित काठको कारोबार गर्ने व्यापारीलाई बिक्री गरेको पाइएको छ । लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद काटेको फेला परेको डिभिजन वन कार्यालयले जनाएको छ । लिम्बुले प्रति क्युफिट २ हजार देखि ३ हजारसम्म विक्री गरेको बुझिएको छ ।
अध्यक्ष लिम्बुले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउदीन मियाको नेतृत्वको समितिले छानबिन गरेको थियो । छानबिनको क्रममा अध्यक्ष लिम्बुले कार्यसमितिको म्याद सकिएपछि वनको काठ अनियमितता गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।
३ वर्षको कार्यकाल भए पनि लिम्बुले आफ्नो कार्यकालको म्याद सकिएको एक वर्ष पछाडि मात्रै साधारण सभा गराएका थिए । ४ वर्षमा ९ सय ८७ क्यूफिट लकडी बिक्री भएको देखिएको वन अधिकृत अलाउद्धीनले बताए । उनका अनुसार सखुवा (साल) ४२७ क्युफिट, ३ सय क्युफिट बोटध्यमरो र अन्य प्रजातिको २६० क्युफिट काठ बिक्री गरेका थिए । छानबिन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि अनुसन्धान अधिकृत तोकिएको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दीपेश मिश्रलाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ । उनले अनुसन्धान गर्दै आएका छन् । अनुसन्धानपछि अभियोग लैजाने तयारी गरेको उनले बताए ।
सो सामुदायिक बनमा यतिबेला अर्कै समिति रहेको छ । लिम्बु कहाँ छन भनेर कसैलाई जानकारी छैन । उनको मोबाईल समेत स्वीच अफ रहेको छ ।