२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन निकालियो बालिकाको छातीमा जमेको पीप

Author Uttari Morang
मंगलबार, पुष १०, २०८०
नेपालमै पहिलो पटक केएमसीमा बिना अप्रेसन  निकालियो बालिकाको छातीमा जमेको पीप
 काठमाडौं मेडिकल कलेज फोक्सोमा जमेको पीप अप्रेशन नगरीकन नै निकाल्न सफल भएको छ ।
भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरी प्रविधीबाट छातीमा सानो प्वाल बनाएर फोक्सोमा जमेको पीप निकालिएको हो । काठमाडौं मेडिकल कलेजका बालरोग शल्यचिकित्सक डा. आशिषलाल श्रेष्ठले यो सर्जरी नेपालमा भने पहिलो पटक प्रयोगमा ल्याइएकोे बताए ।

डा. आशिषलाल श्रेष्ठका अनुसार ९ वर्षीया बालिका आकृति ठाकुरलाई ज्वरो र वान्ता हुने समस्या भए पछि अस्पताल ल्याइएको र परीक्षण गराउदा छातीमा निमोनिया पछि पीप जम्ने समस्या भएको पाइएकोले छातीमा जमेको पीप निकाल्न यो प्रविधीबाट उपचार गरेको बताए । यसअघि यस्तो समस्याको छाती चिरेर अप्रेशन गर्ने गरिन्थ्यो तर यस पटक भने नेपालमै पहिलो पल्ट बिना अप्रेशन भिडियो एसिस्टेड थोराकोस्कोपिक सर्जरीबाट पीप बाहिर निकालिएको बताउछन् ।

अप्रेशन गर्दा बिरामीलाई ठिक हुन लामो समय लाग्ने तर यस सर्जरीले भने ठिक हुन पनि समय कम लाग्ने र बिरामीलाई कम दुःख हुने बताए । यस सर्जरीको सेवा र अप्रेशन सेवाको खर्चमा खासै फरक नरहेको जिकिर गरे । उनले भने– ‘९ वर्षको एउटा बहिनी आउनुभएको छ । उहाँको छातीमा निमोनियापछि पीप जम्ने समस्या भएको थियो । त्यसले फोक्सो फुल्न नसक्ने भएकाले त्यो पीप क्लियर गर्नुपर्ने थियो । पीप क्लियर गरेन भने त्यो फोक्सो पछि पनि फुक्न पाउँदैन । त्यसमा समस्या आउँछ र पछि गएर फोक्सो नै निकाल्नु पर्ने हुन सक्छ । हामीले उसको केसमा भ्याच भन्ने अप्रेशन ग¥यौँ । अन्य केसमा छाति नै चिरेर गर्नुपर्ने अवस्था हुँदा बिरामीलाई बढी दुख्ने हुन्थ्यो, घाउ पाक्ने हुन्थ्यो यसबाट त्यस्तो गाह्रो हुँदैन । प्रविधिको विकास नहुँदा पहिला यस्ता बिरामी अन्यत्र पनि पठाउनु पर्ने थियो । हामी पछिल्लो समय लागिरहेका थियौँ । अहिले काठमाडौं मेडिकल कलेजमै यो सेवा उपलब्ध छ । उसको अवस्था सुधार भएको छ । बिरामीलाई सुलभ भएको छ । फोक्सो पनि फुलेको देखिएको छ । खर्चको हिसावले दुई चार हजार अन्तर मात्रै छ, तर सामान्य जिन्दगीमा चाँडै फर्किनसक्ने भएको यो प्रविधि राम्रो हो ।’

त्यस्तै बिरामीका पिता उमेशचन्द्र ठाकुरले घरमा ज्वरो र वान्ता आउने समस्या भएपछि स्वास्थ्य परीक्षणका क्रममा सो रोगको पत्ता लागेको र अप्रेशनपछि अहिले बालिकाको स्वास्थ्य अवस्था ठिक हुँदै गएको बताए ।

उनले बालिका अहिले खाने र हिँड्ने गर्न थालेको र फोक्सो पनि फुल्न थालेको बताए ।
उनले भने– ‘घरमा ज्वरो र वान्ता आउँथ्यो, डाक्टरले अप्रेशन गर्नुपर्छ भन्नुभयो, निमोनियाको औषधि लिँदा ठिक भएन, सिट स्क्यान गर्दा फोक्सोमा पिप जमेको रहेछ । यो अप्रेशन गर्नुपर्छ भन्नुभयो । केही सामानहरु हामीले खोज्यौँ । त्यसपछि सबै सामान पाएनौँ तर जति पनि सामान छ, त्यसले अप्रेशन गरेर आज सफल भएको छ । अहिले नानी खाना खाने हिँड्ने गरेको छ ।’

यस भन्दा अघि छाती चिरेर मात्रै यस्तो अप्रेशन गर्ने गरिन्थ्यो ।