भारतीय टीमलाइ पराजित गर्दै सलहेस क्लब बेलबारी गोल्डकपको सेमिफाइनलमा
Uttari Morang
भारत पश्चिम वंगालको दलसिंहपारा फुटबल एकेडेमीलाई ३–२ गोलले हराउँदै सलहेस फुटबल क्लब सिराहा अन्तर्राष्ट्रिय आमन्त्रण सातौं आरजु राइस बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सलहेस क्लबको बुधबार जितसँगै गोल्डकपको सेमिफाइनल समिकरण पुरा भएको छ । सहलेस फुटबल क्लबले कात्तिक ९ गते चित्लाङ फुटबल क्लबसँग दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
सहलेश फुटबल क्लबका अजयी मार्टिनले चौथो मिनेटमा गोल गरे । समीर तामाङले दिएको पासलाई मार्टिनले गोल गरेका थिए । लगत्तै ८ ओैं मिनेटमा मार्टिनको पासमा समीर तामाङले गोल गरे । अन्डर ट्वान्टीको राष्ट्रिय टिमका खेलाडी समीर तामाङले २६ ओैं मिनेटमा सहलेसको जितका लागि वान भर्सेस वानमा अर्को उत्कृष्ट गोल गरे ।
दलसिंहपारा फुटबल एकेडेमीले मध्यान्तर अघिको अतिरिक्त समयमा १ गोल फर्कायो । दलसिंहपाराका लागि रोहन थापाले गोल गरे ।
मध्यान्तर अघि ३–१ गोलको अग्रता बनाएको सलहेस बिरुद्ध भारतीय टिमले ४६ ओैं मिनेटमा सुन्दर गोल गर्दै गोल अन्तर घटाएको थियो । दलसिंहपाराका लागि दोस्रो गोल रोहन थापाले गरे । २ गोल गरेर खेलमा फर्किएको भारतीय टिमले मध्यान्तर पछि उत्कृष्ट खेल खेलेपनि हार टार्न सकेनन ।
बुधबारको खेलमा सलहेस फुटबल क्लबका समीर तामाङ म्यान अफ द म्याच घोषित भए । तामाङलाई प्रदेश खेलकुद विकास समिति कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेत (परशुराम) ले नगद ५ हजार सहित ट्रफि प्रदान गरे । बिहीबार पहिलो सेमिफाइनलमा झापा ११ ले बुटवल लुम्बिनी फुटबल क्लब रुपन्देहीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताका प्रथम र दोस्रो स्थान हासिल गर्ने फुटबल टिमले क्रमश : ८ लाख र ४ लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजक एल एक्स सिटी फुटबल क्लब अध्यक्ष विक्रम राईले बताए ।






