२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

महिला खेलाडीको उपचारका लागि खाजा खर्च कटाएर विद्यार्थीले गरे सहयोग

Author Uttari Morang
बुधबार, मंसिर २६, २०८१
महिला खेलाडीको उपचारका लागि खाजा खर्च कटाएर विद्यार्थीले गरे सहयोग

सुनवर्षी । खाजा खर्च कटाएर  मोरङ सुनवर्षीकी क्यान्सर पिडित महिला फुटबल खेलाडी कमला श्रेष्ठको उपचारका लागि  सुनवर्षी २ स्थित डन बस्को स्कुलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।

पाठेघरको क्यान्सर जस्तो घातक रोगसँग लडिरहेकी सुनवर्षी नगरपालिकाको वडा नं १ , केचना निवासी महिला फुटबल खेलाडी कमला श्रेष्ठको घरमै पुगेर डन बस्को स्कुलका विद्यार्थीहरुले बुधबार नगद रु ४६ हजार ६ सय ५० रुपैयाँ हस्तान्तरण गरेका हुन ।

केचना महिला फुटबल क्लबकी कप्तान समेत रहेकी श्रेष्ठ पाठेघरको क्यान्सरसंग लडिरहेको थाहा पाएर एक साता अघि सोही विद्यालयका निर्देशक किरण थापाले नगद रु ११ हजार आर्थिक सहायता प्रदान गरेका थिए । थापाले स्कुलको तर्फबाट थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत गरेका थिए । सोही बमोजिम स्कुलले शिक्षक कर्मचारीको तर्फबाट रु ९ हजार ३ सय ६५ र विद्यार्थीहरुको तर्फबाट रु ३७ हजार २ सय ८५ रुपैयाँ बिरामी कमला श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

विद्यार्थीहरुले स्वस्फूर्त रूपमा आफ्नो खाजा खर्च कटाएर बिरामीको उपचारका लागि सहयोग गरेको सहयोग रकम हस्तान्तरण कार्यक्रममा उपस्थित विद्यार्थीहरुले बताएका थिए । कार्यक्रममा स्थानीय समाजसेवीहरु ज्ञान बहादुर बस्नेत , गोविन्द लिम्बू , स्कुलका संयोजक हरिकुमार गिरि , शिक्षकहरु ललित विष्ट र दक्षिणा भट्टराई सहित विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरु उपस्थित भएका थिए ।

पथरीशनिश्चरे र सुनवर्षी नगरपालिकामा गुणस्तरीय शिक्षा संगै सामाजिक गतिविधिमा सक्रिय डन बस्को स्कुलले विगत लामो समयदेखी स्थानीय स्तरमा सामाजिक कार्यहरु गर्दै आएको छ । स्कुलले हालै सुनवर्षी नगरपालिकाको वडा नं २ म आगलागी पीडित सुनामडी सोरेन र देवा हस्दाको परिवारलाई नगद रु ३४ हजार सहायता प्रदान गरेको थियो ।