२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

लेउतीले सडक बगाएपछि धनकुटा जाने बाटो अवरुद्ध

Author Uttari Morang
शनिबार, जेठ १८, २०८२
लेउतीले सडक बगाएपछि धनकुटा जाने बाटो अवरुद्ध

शुक्रबार रातिको अति भारी वर्षापछि लेउती खोलामा आएको बाढीले  कोशी लोकमार्गको धनकुटा भेडेटार खण्डको सडक बगाएको छ ।

साँघुरीगढी गाउँपालिका वडा नम्बर ६ स्थित फेदी भन्ने ठाउँमा लेउती खोलाले करिब ३० मिटर पक्की सडक भत्काएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएको छ।

‘रातिको भीषण झरीले लेउती खोलामा बाढी निम्त्यायो, त्यही बाढीले कम्तीमा ३० मिटर बाटो भत्काएको छ,’ धनकुटा प्रहरी प्रमुख एसपी शरदकुमार थापा क्षेत्रीले भने, ‘यसले आज बिहानैदेखि कोशी लोकमार्ग अवरुद्ध बनेको छ।’ भेडेटारबाट धनकुटा सदरमुकाम जाने बाटोमा मुलघाट नजिकको सडक बगाएपछि कोशी राजमार्ग भएर धनकुटा, तेर्हथुम, भोजपुर, संखुवासभा जाने तथा तमोर करिडोर हुँदै ताप्लेजुङ र पाँचथर जाने सवारी साधन रोकिएका छन् ।

धनकुटामै बाढीले थप दुई ठाउँ बाटोमा अवरोध पुर्‍याएको छ। चौबीसे गाउँपालिका-४ मा छहरे खोलाले तमोर करिडोरको बाटो पनि भत्काएको एसपी क्षेत्रीले जानकारी दिए । साँघुरीगढी गाउँपालिकामै रहेको नमस्ते झरना नजिकै पनि बाढीले बाटो अवरोध गरेकोमा प्रहरीले पन्छाएको छ।

सरदरभन्दा १५ दिन अगावै शुक्रबारबाट नेपालमा मनसुन प्रवेश गरेको थियो। मनसुनको पहिलो दिन नै पूर्वमा १२ घन्टाभित्र २०३ मिलिलिटरभन्दा माथि पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल ईलाम, झापा, मोरङ, सुनसरी र धनकुटा को धेरै स्थानमा भारी बर्षा मापन भएको र थप बर्षा हुने बन्दै विभागले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा-रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोला लगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्नी भएकोले उच्च सतर्कता अपनाउन सूचित गरेको छ।