२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

गोठगाउँमा पनि शुरु हुनेभो मेडिकल कलेज, पुर्वान्चल बिश्व विद्यालयले पायो अनुमति

Author Uttari Morang
शनिबार, साउन ३२, २०८२
गोठगाउँमा पनि शुरु हुनेभो मेडिकल कलेज, पुर्वान्चल बिश्व विद्यालयले पायो अनुमति

सुन्दरहरैंचा नगरपालिका क्षेत्रको गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएको छ ।

चिकित्सा शिक्षा आयोगको २१औँ बोर्ड बैठकले एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट स्वीकृति दिएको हो ।मोरङ ३ का संघीय सांसद डा. सुनिल शर्माले सामाजिक संजाल मार्फत विश्वविद्यालयले मेडिकल कलेजको सम्बन्धन पाएको जानकारी दिएका छन् । वि.सं. २०५२ सालमा स्व. गिरिजाप्रसाद कोइरालाको पालामा विश्वविद्यालय स्थापना भएको र २०५८ सालमा भौतिक संरचना  निर्माण सम्पन्न भएको विश्वविद्यालयले बल्ल मेडिकल कलेजको सम्बन्धन पाएको हो ।

वि.सं. २०६२ सालमा एमबिबिएस अध्ययन प्रारम्भ गरेको यस विश्वविद्यालयले जनआन्दोलन लगायतका विभिन्न कारण देखाउँदै पठनपाठन बन्द गरेको थियो । यस क्षेत्रका राजनितिक तथा सामाजिक व्यक्तित्वहरुको पहल र दबाबका कारण अस्पताल सञ्चालन हुँदै आएको बिश्व विद्यालयमा  नर्सिङ र फार्मेसी लगायतका कार्यक्रम वि.सं. २०७०।०७१ सालबाट सञ्चालनमा छन् ।

नर्सिङ, फर्मेसी लगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालन भएपनि  विश्वविद्यालयको लक्ष्य अनुरुप मेडिकल कलेज सञ्चालन हुन नसक्दा राजनैतिक दलहरुले पटक–पटक सडकजामदेखि सहयोग समिति निर्माण गरी विभिन्न दवावमुलक कार्यक्रम गर्दै आएका थिए । ।

केन्द्रिय कार्यालय विराटनगरमा नै कायम गर्न अनेकौं चलखेल भएपनि पुर्व सांसद भानुभक्त ढकालको कार्यकालमा ऐनमा संसोधन गरी गोठगाउँमा केन्द्रिय कार्यालय राख्ने ब्यबस्था गरिएको थियो । सांसद सुनिल शर्माले पनि गोठगाउँमा मेडिकल कलेज संचालनका लागि पहल गर्दै आएका थिए ।

यहाँस्थित सामाजिक तथा राजनैतिक दवावसँगै निर्वाचित माननियहरुको समन्वयका कारण पुष्पकमल दाहाल प्रधानमन्त्री भएका समयमा वि.सं. २०७८ सालमा कोशी अस्पतालसँग अभ्यासका लागि अस्पताल प्रयोग गर्ने सम्झौता भएको थियो । मेडिकल कलेजको मुद्दा पेचिलो बन्दै जाँदा राजनैतिक वृत्तमा हार र जितको अवस्था समेत सिर्जना हुन पुगेको थियो । त्यसै क्रममा माननिय डा. सुनिलकुमार शर्माले समुदायको सेन्टिमेन्टलाई बुझि कलेजको मुद्दालाई उठान गरेका थिए ।

बिश्व विद्यालयले मेडिकल कलेज संचालनको अनुमती पाएपछि मोरङ ३ बाट निर्वाचित संघीय सांसद डा.सुनिल्शर्माले फेसबुकमा लेखेका छन् – व”र्षौँदेखि केवल कागजी प्रक्रियामै अड्किएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज अब अन्ततः सञ्चालनमा आएको छ। यो उपलब्धि मोरङ क्षेत्र नं. ३ र सम्पूर्ण कोशी प्रदेशको इतिहासमा एक गौरवपूर्ण कोशेढुङ्गा हो । आज, मोरङका जनतासँग गरेको मेरो एक ठोस प्रतिबद्धता पनि पूरा भएको छ, त्यस्तो प्रतिबद्धता, जसले आमनागरिकलाई स्वास्थ्य, शिक्षा र रोजगारीको क्षेत्रमा सहजता, पहुँचता र दिगोपन अभिवृद्धि गर्नेछ।”

प्रदेश सांसद लोकप्रसाद संग्रौलाले पनि  सामाजिक संजाल फेसबुकमार्फत विश्वविद्यालयले ५० बेडको अस्पतालसहित मेडिकल कलेजको सम्बन्धन पाएकोमा खुशी व्यक्त गरेका छन् ।