२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

होमस्टे र जीवित सङ्ग्रहालय मार्फत संस्कृति संरक्षणमा जुट्दै बेलबारीका धिमाल समुदाय

Author Uttari Morang
शुक्रबार, कार्तिक २९, २०८२
होमस्टे र जीवित सङ्ग्रहालय मार्फत संस्कृति संरक्षणमा जुट्दै बेलबारीका धिमाल समुदाय

मोरङको बेलबारी नगरपालिका–१० स्थित माटीगाउँमा धिमाल समुदायको भाषा, संस्कृति, परम्परा, खानपान र जीवनशैलीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले धिमाल होमस्टे (घरबास)  सञ्चालनको तयारी भएको छ।

धिमाल समुदायको पहिचान संरक्षणसँगै पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आधारका रूपमा हेरिएको  होमस्टे सञ्चालनको तयरीसँगै धिमाल जीवित सङ्ग्रहालय (लिभिङ म्युजियम_  निर्माणको काम पनि अघि बढाइएको छ। धिमाल समुदायको ऐतिहासिक, सांस्कृतिक र सामाजिक जीवनलाई एकै स्थानमा अवलोकन गर्न सकिने छ ।

मोरङ र झापाका तराई क्षेत्रमा मुख्य बसोबास रहेको धिमाल समुदायलाई मोरङको बेलबारी, पथरीशनिश्चरे नगरपालिका र झापाको दमक नगरपालिकाले ‘प्रथम नागरिक’ का रूपमा सम्मान गर्दै आएका छन्। सोही सम्मानलाई व्यवहारमा उतार्ने उद्देश्यले बेलबारी नगरपालिकाले माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र होमस्टे निर्माणको अवधारणा अघि सारेको हो। मोरङको बेलबारी–१० स्थित माटीगाउँलाई धिमाल समुदायको सघन बसोबास भएको क्षेत्र मानिन्छ। मोरङको कानेपोखरीस्थित कालीकोशी, उर्लाबारीको आमबारी, बेलबारीकै डाँगीहाट, दमकको अर्नाखाडी र नलबारीमा पनि धिमालहरूको बसोबास छ। तर एउटै बस्तीमा १२१ घरधुरी धिमाल समुदाय रहेको यो गाउँ धिमाल संस्कृति अध्ययनका लागि महत्त्वपूर्ण मानिन्छ।

माटीगाउँ टोल विकास संस्थाका अध्यक्ष जोगेन्द्र धिमालका अनुसार होमस्टे सञ्चालनका लागि सुरुमा १० घर छनोट गरिएका थिए। तीमध्ये सूर्यबहादुर धिमाल, सूर्यमाया धिमाल, सकेन्द्र धिमाल, नगेन्द्र धिमाल र जोगेन्द्र धिमालले आफ्ना घरलाई होमस्टेका रूपमा तयार गरिसक्नुभएको छ। उहाँका अनुसार होमस्टे निर्माणमा कुल ३ लाख २६ हजार ७६३ रुपियाँ खर्च भएको छ। बेलबारी नगरपालिकाले २ लाख रुपियाँ अनुदान उपलब्ध गराएको थियो भने बाँकी १ लाख २६ हजार ७६३ रुपियाँ स्थानीय समुदायले व्यवस्थापन गरेको हो। पाँचवटा घरमा दुईदेखि तीनवटा शयनकक्ष तथा भित्रै शौचालयको व्यवस्था गरिएको छ। जोगेन्द्र धिमालले होमस्टे सञ्चालनले धिमाल समुदायको सांस्कृतिक परिचय देशभर फैलिनुका साथै स्थानीय महिलाका लागि रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यसले धिमाल संस्कृति जोगाउन मद्दत गर्ने मात्र होइन, घरायसी काममा सीमित महिलालाई आयआर्जनको अवसर पनि दिनेछ।

धिमालहरूले आयोजना गर्ने मेला–महोत्सव र जात्रामा मात्र पाइने परम्परागत खानाको स्वाद अब होमस्टेमै उपलब्ध हुने भएको छ।यसअघि झापाको दमक–३ मा दुईवटा सामुदायिक होमस्टे सञ्चालनमा आइसकेका छन्। सेउपाखा धिमाल सामुदायिक होमस्टेका अध्यक्ष गणेश धिमालका अनुसार सात घर प्रत्यक्ष रूपमा रोजगारमा जोडिएका छन् भने अप्रत्यक्ष रूपमा अरू धेरै परिवार लाभान्वित भएका छन्। होमस्टेमा ३५ जना पाहुनासम्म राख्न सकिने व्यवस्था छ।एक समय मोरङ र झापाका धिमाल समुदाय भूमिपतिका रूपमा चिनिन्थे। तर समयक्रमसँगै उनीहरू आर्थिक रूपमा कमजोर हुँदै गएको अगुवाहरू बताउँछन्। कानेपोखरी–५ निवासी धिमाल अगुवा प्रकाश धिमालका अनुसार खेतीयोग्य जमिन बाँझो बन्नु, बाहिरबाट बसाइँसराइ बढ्नु र आर्थिक व्यवस्थापन कमजोर हुँदा धिमाल समुदाय विस्थापित हुँदै गएको हो।होमस्टेपछि माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय निर्माणको योजना अघि बढाइएको छ। बेलबारी–१० स्थित राजाज्वाला धिमाल महाराजथानले चर्चेको नौ कट्ठा जग्गामा सङ्ग्रहालय र सामुदायिक भवन निर्माण गर्न लागिएको हो।

सङ्ग्रहालय बनेपछि धिमाल समुदायको परम्परागत जीवनशैली, कृषि प्रणाली, सामाजिक संरचना, भेषभूषा, बाजागाजा, घरायसी सामग्री र सांस्कृतिक अभ्यास प्रत्यक्ष अवलोकन गर्न सकिनेछ। बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले यो देशमै पहिलो धिमाल होमस्टे भएको बताउनुभयो। उहाँका अनुसार यसले माटीगाउँलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछ। धिमाल होमस्टेमा चिचिरीभात, बगिया, गेन्द्रो, चुदुर, तोये र केयामजस्ता परम्परागत परिकारको स्वाद लिन सकिनेछ। साथै पेटानी, कृषि औजार तथा परम्परागत सामग्री पनि प्रदर्शनमा राखिनेछ। स्थानीय लकिमाया धिमालका अनुसार पाहुनालाई धिमाल संस्कृतिअनुसार स्वागत गरिनेछ र गीत–संगीत तथा नृत्य प्रस्तुत गरिनेछ।धिमाल होमस्टे र जीवित सङ्ग्रहालयले समुदायको संस्कृति संरक्षणसँगै पर्यटन र स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ। परम्परागत सीप, खानपान र जीवनशैलीलाई आर्थिक अवसरसँग जोड्ने यो पहललाई धिमाल समुदायले सकारात्मक रूपमा लिएको छ। माटीगाउँमा सुरु भएको यो अभ्यास धिमाल समुदायको पहिचान पुनःस्थापना र आत्मनिर्भरतातर्फको महत्वपूर्ण कदमका मानिएको  छ।