प्रभाबकारी बन्दै जटिल रोगका बिरामीलाइ उपचार खर्च दिने बेलबारी नगरपालिकाको कार्यक्रम
Uttari Morang
क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुलाइ उपचार खर्च दिने बेलबारी नगरपालिकाको कार्यक्रमबाट हालसम्म हजार जनाभन्दा बढी नगरबासीले लाभ लिएका छन् ।
जनप्रतिनिधिको अघिल्लो कार्यकालमै शुरु गरिएको जटिल रोगका बिरामीलाइ औषधि उपचार खर्च दिने कार्यक्रम प्रभाबकारी देखिएको हो । बिक्रम सम्बत २०७४ सालमा कार्यपालिका बैठकको निर्णयबाट नगरपालिकाले प्राणघातक रोगहरु. क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनल कड इन्जुरी लगायतकाका बिरामीलाई उपचार खर्च दिन शुरु गरेको थियो । पहिलो बर्ष २०७५ सालमा ६२ जना बिरामीले यस्तो उपचार खर्च पाएकामा नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० सम्ममा ६ सय ७५ जनालाइ उपचार खचदिएकोे थियो । चार बर्षको अबधिमा क्यान्सर, मुटुरोगी, मृगौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट, स्पाइनल कड इन्जुरी लगायतका रोग लागेका ५ सय ३३ जना बिरामीलाइ जनही २५ हजारको दरले उपचार खर्च दिँदा १ करोड ३३ लाख २५ हजार रुपैयाँ खर्च भएको थियो । त्यसबेला २०७८ सालको अन्त्यसम्म क्यान्सरका २ सय २३ जना, मुटु रोगी १ सय ७९ जना, मृगौलाका रोगी ६९ जना र स्पाईनल ईन्जुरीबाट ग्रसित ५२ जना सहित ५ सय ३३ बिरामीले उपचार खर्च पाएका थिए ।
दोस्रो कार्यकालका लागि दिलप्रसाद राइको नेतृत्वमा जनप्रतिनिधि निर्वाचित भएपछि कार्यबिधि नै बनाएर २०७९ सालको अन्त्यदेखि क्यान्सरजन्य रोगहरु मुटुको शल्यक्रिया, मृगौला डाइलोसिस तथा प्रत्यारोपण, मेरुदण्ड पक्षघात,, हेड इन्जुरी, बोनम्यारो, क्यान्सर, प्यारालाइसिस, सिकलसेल र एनेमिया रोगका बिरामीलाई दिइने उपचार खर्च ४० हजार पुर्याइएको छ ।
नगरपालिकाले कार्यबिधि बनाएपछि नसर्ने क्यान्सरजन्य रोगहरु मुटुको शल्यक्रिया, मृगौला डाइलोसिस तथा प्रत्यारोपण, मेरुदण्ड पक्षघात, हेड इन्जुरी, बोनम्यारो, क्यान्सर, प्यारालाइसिस, सिकलसेल र एनेमिया रोगका बिरामीले ४० हजारसम्म उपचार खर्च पाउँदै आएको बेलबारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष बिश्वकर्माले बताए ।
बिक्रम सम्बत २०७४ सालदेखि २०८१ को प्रथम चौमासिक अबधिसम्ममा ९ सय ८० जनाले उपचार खर्च लिएको तथ्याङ्कबाट देखिन्छ । तर नगरपालिकाले जनप्रतिनिधिहरुको कार्यकालको तथ्याङ्कलाइ लक्षित गरी विवरणहरु मात्र अद्याबधिक गर्ने गरेकोले अघिल्लो कार्यकालका जनप्रतिनिधि हुँदा यो सुबिधा लिएका बिरामीहरुको सबै तथ्याङ्क ब्यबस्थित रुपमा अद्याबधिक गरिएको पाइंदैन ।
त्यसो त नगर क्षेत्रभित्र पछिल्लो समय क्यान्सरजन्य नसर्ने रोगका बिरामीहरुको संख्या बढ्दै गएको छ । बर्षेनी उपचार खर्च लिने बिरामीहरुको संख्या बढ्दै जाँदा त्यस्ता रोगहरुको रोकथाम न्यूनिकरणका उपायहरु खोज्नुपर्ने अबस्था देखिएको छ । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्नै नदिने उपायहरु खोज्नु जरुरी देखिएको छ ।
अर्कोतर्फ नेपाल सरकारले क्यान्सर, मुगौला डाइलोसिस,तथा प्रत्यारोपण,र मेरुदण्ड पक्षघातका बिरामीहरुलाइ स्थानीय पालिका मार्फत मासिक ५ हजारका दरले औषधि उपचार खर्च दिने गरेको छ ।






