२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

प्रदेश राजधानी बिराटनगर हैन, इटहरी वा गोठगाउँमै होस् भन्ने चाहन्छन् नागरिक

Author Uttari Morang
बुधबार, आश्विन १७, २०७५
प्रदेश राजधानी बिराटनगर हैन, इटहरी वा गोठगाउँमै होस् भन्ने चाहन्छन् नागरिक

प्रदेश १ को नाम के र  राजधानी कहाँ राख्नु ठिक हुन्छ भन्ने बिषयमा हिजोआज पुर्वमा निकै चर्को बहस भइरहेकोे छ ।  चिया पसलदेखि सामाजिक संजालमा मात्रै होइन, घर घर र चोक चोकमा पनि प्रदेशको राजधानी कहाँ भन्ने  बिषयले स्थान पाउन थालेको छ । यसै हप्ता प्रदेश १ का मुख्य मन्त्री शेरधन राइल बिकेन्द्रीत राजधानीको अबधारणा ल्याएपछि चर्चा बढेको यो बिषयले प्रदेशको सदनमा पनि राम्रै स्थान पाएको  छ ।

धेरैले सरकारले अस्थायी राजधानी तोकेको बिराटनगर नै राजधानी बनाउनुपर्ने तर्क गरिरहेका छन् भने बोडरमा रहेकोे बिराटनगर होईन; इटहरी, धरान, धनकुटा वा गोठगाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने  पक्षमा पनि उत्तिकै बलियो जनमत छ ।

यसै सन्दर्भमा संयन्त्र डटकमले प्रदेश १ को राजधानी कहाँ उपयुक्त हुन्छ भन्ने बिषयमा जनमत अभियान शुरु गरेको छ । प्रस्तुत छ समाचार सम्पादक केशु बिरही को  समेत  सहयोगमा विभिन्न स्थानका र विभिन्न क्षेत्रका मानिसहरूलाई प्रत्यक्ष भेटेर  समाचार  सम्पादक अम्बिका भण्डारीले तयार गरेको जनमत सहितको सामग्री :


हरेक हिसाबले  गाेठगाउँ ठिक छ – हरि कोइराला (पत्रकार) कानेपोखरी, मोरङ

गाेठगाउँ नै  प्रदेश नं.१ काे राजधानीको लागि उपयुक्त छ किनभने यो ठाउँ पूर्व पश्चिम राजमार्गमा पर्छ र प्रदेश १ खण्डको लगभग मध्य भागमा पनि हो । हवाई जहाजबाट अाउने र सडकबाट अाउनेका लागि पायक पर्ने ठाउँमा पर्छ ।

गाेठगाउँमै रहेकोे पूर्वाञ्चल विश्व विद्यालयका सुविधा सम्पन्न भवनमा मन्त्रालय राख्न सकिन्छ । विश्व विद्यालयकाे १०८ विगाहा जमिन छ ।अाधा जमिनमा विश्व विद्यालय र अाधामा नयाँ संरचना निर्माण गर्न सकिन्छ ।

गाेठगाउँमा न बाढीले डुवाउँछ,न खाेलाकाे कटान समस्या छ,न त नयाँ संरचनाको निर्माण गर्दा सर्वसाधारणको जग्गा नै अधिग्रहण गर्नुपर्ने समस्या छ । अर्को कुरा साेलु र ताप्लेजुङबाट हवाई जहाजमा उडेर अाउनेलाई मात्रै हाेईन, अाेखलढुंगा,खाेटाङ,भाेजपुर,उदयपुर ,धनकुटा तेर्हथुमबाट बस चढेर अाउनेलाई पनि सहज छ ।
सुन्दरहरैचा नगरपालिका क्षेत्र चारकोसे जङ्गलसँगै जाेडिएकाेले भाेलिका दिनमा जस्तोसुकै संरचना निर्माण गर्न परेपनि ऐलानी पर्ति जग्गाको अभाव हुदैन । त्यहाँ  रंगशाला र हवाईमैदान बनाउनु परेपनि जमिनकाे अभाव हुँदैन ।


इटहरी नै ठिक हुन्छ – गणेश गौतम केर्खा, झापा

अरु ठाउँ भन्दा सेन्टरमा पर्छ । धनकुटा तेह्रथुमतिर पहाडतिर जान होस वा पुर्व वा पश्चिम जान सेन्टरमा पर्छ ।  पायकको हिसाबले धनकुटा वा बिराटनगरभन्दा इटहरी नै ठिक छ । इटहरीलाइ बिस्तार गरेर गोठगाउं वा तरहरातिर पनि पुर्याउन सकिन्छ तर बिराटनगर बोर्डर एरिया भएकोले चारैतिर बिस्तार गर्न सकिन्न । हुन त मेरो हालको बसाइ बिराटनगरमै छ तर पनि मलाई इटहरी नै ठिक लाग्छ ।


इटहरीमा नै राम्रो हुन्छ – राजकुमार चौधरी, पथरीशनिश्चरे

राजधानी जहाँ भए नि हाम्रो लागि के फरक पर्ला र ? यो बिषयमा मलाई धेरै त थाहा छैन तर मेरो विचारमा सेन्टर पनि इटहरी नै छ । बिराटनगरभन्दा  सफा पनि छ ।  सबैलाई पायक पर्ने पनि इटहरी नै हो । त्यसैले मेरो बिचारमा इटहरी नै ठिक हुन्छ जस्तो लाग्छ ।


बिराटनगर ठिक छ नि – दुर्गा बस्नेत बिराटनगर

 चाहे भौगोलिक हिसाबले होस वा जनसंख्या अथवा खाली ठाउँ, सरकारी जग्गा र सरकारी कार्यालय कुनै पनि दृष्टिले बिराटनगरभन्दा उपयुक्त अन्यन्त्र छँदैछैन । विराटनगरमा राजधानीका लागि सबै पूर्वाधार छन् ।  त्यसैले बिराटनगरको विकल्प नै छैन  ।


धरान भन्दा राम्रो कहिँ हुन्न –  नरहरी उप्रेती , धुलाबारी

धनकुटा लगायत पहाडी ईलाका आउन जान होस वा हावापानीको हिसाबले धरान नै ठिक छ । पहाडी ईलाका मात्रै होइन, तराईको लागि पनि धरानभन्दा उपयुक्त अरु ठाउँ छैन । त्यसैले धरानलाई राजधानी बनाइनुपर्छ  ।


इटहरी नै उपयुक्त – अमअरेन्द्र कुमार साह बिराटनगर

हुन त इटहरी नै ठिक हो । सबै जिल्लाको सेन्टर पनि । बिराटनगर त्यसै पनि बिकास भएकै ठाउँ हो । बिराटनगरमा जनसंख्याको चाप ज्यादा छ । संघीय अबधारणा अनुसार बिकास भइसकेको ठाउँलाई राजधानी बनाउने होइन, कम बिकशित स्थानलाई प्रबर्द्धन गर्नुपर्छ । त्यस हिसाबले पनि बिराटनगर भन्दा इटहरी नै ठिक छ । बोर्डर एरिया भएकोले पनि बिराटनगर प्रदेश राजधानीका लागि उपयुुक्त होईन ।


धनकुटा, बिराटनगर, इटहरी वा गोठगाउं जता भए नि ठिकै – मिना दाहाल बिराटनगर

रोजाइ त धनकुटा हो तर अहिलेको बसाई बिराटनगर भएकोले यहीँ भए नि ठिकै छ । मेरो बिचारमा बिराटनगरमै राजधानी बनाउँछन् जस्तो लाग्छ  । हुन त इटहरी र गोठगाउं पनि उपयुक्त हो तर इटहरी र गोठगाउं राजधानी  हुन्छ जस्तो मलाइ चाहिँ लाग्दैन ।


सारे पनि संरचना तयार गरेर मात्र सार्नुपर्छ – अर्जुन आचार्य (सचिब पत्रकार महासंघ मोरङ)

प्रदेश राजधानी यहीँ हुनुपर्छ भन्ने छैन । बिराटनगर,इटहरी, गोठगाउं, धनकुटा र धरान जहाँ भए नि हुन्छ तर अहिले अर्को ब्यबस्था नभएसम्म बिराटनगरबाट राजधानी सारिहाल्नु हुन्न । अहिले जहाँ भए नि राजधानी तोकौं र त्यसको लागि निश्चित ठाउँमा भौतिक पुर्वाधार वा संरचना निर्माण गर्न थालौं र जब सबै संरचना तयार हुन्छन् , तब राजधानी सारौं तर राजधानी बिकेन्द्रीत हुनु हुदैन । त्यसो गर्दा जनताले दु:ख पाउँछन् । त्यसैले एकैठाउंमा प्रदेशका सबै संरचना तयार गरौं र त्यो स्थानमा राजधानी कायम गरौं । यो नै बैज्ञानिक विधि हो ।


इटहरी वा गोठगाउं नै ठिक छ नि – गणेश दाहाल, अधिबक्ता (धनकुटा, हाल काठमाण्डौं)

मेरो घर धनकुटा हो, त्यसैले स्वाभाविक रुपले त्यहीँ भए हुन्थ्यो जस्तो त लाग्छ तर आफ्नो  ठाउँमै राजधानी हुनुपर्छ भनेर मात्रै हुँदैन, हरेक हिसाबले उपयुक्त हुनुपर्यो  । त्यसैले इटहरी वा गोठगाउं केन्द्र रहनेगरी प्रदेशको राजधानी बनाउंदा सबैभन्दा उपयुक्त हुन्छ । यी ठाउँ बाहेक अन्यत्र प्रदेश राजधानी बनाउनु उपयुक्त हुन्न ।


बिराटनगर आफैंमा राजधानी हो – तेजेन्द्र भण्डारी संयोजक अनलाइन मिडिया समूह,मोरङ 

बिराटनगरमा राजधानीका लागि चाहिने सबै पुर्वाधार छन् । स्थानीयबासी भएकोले पनि यहाँ राजधानी भए राम्रो । तर बिराटनगर आफैंमा राजधानी हो । यसलाई प्रदेशको राजधानी बनाइरहनुपर्ने जरुरी छैन । अन्यत्र राजधानी बनाएपनि अन्यत्रका मान्छेलाई यहीँ आउनुपर्ने हुन्छ ।  किनभने एयरपोर्ट यहीँ छ । अझ अन्तर्राष्ट्रिय स्तरको एयरपोर्ट बन्दैछ । एकसय भन्दा बढी नर्सिङ होम र हस्पिटल र टिचिङ हस्पिटल छन् । धेरै कार्यालय यहीँ छन् । ठुल्ठुला सपिङ मल बन्दैछ्न । थ्रीस्टार र फाइभ स्टार होटल बन्दैछन । ती सरेर जाने होइनन् । त्यसैले यहाँका मानिसहरुलाइ राजधानी भए नि नभए पनि खासै फरक पर्दैन ।  अन्यत्र राजधानी सारे नि हुन्छ । अन्यत्र राजधानी हुन नसक्ने होईन तर अन्यत्र राजधानी बनाउंदा संरचनाका लागि अरबौं खर्च हुन्छ , त्यसो किन गर्ने ?


सेन्टरको हिसाबले इटहरी वा गोठगाउं, संरचनाको हिसाबले बिराटनगर  – पार्वती बराल, बेलबारी मोरङ

सेन्टरको हिसाबले त इटहरी पनि सबैतिरको सेन्टर होईन तापनि तुलनात्मक सेन्टर र सबैको चाहना इटहरी नै हो । तर इटहरीमा वा गोठगाउंमा पर्याप्त खाली जग्गा र भौतिक संरचना नभएकोले संरचना बनाउन लामो समय लाग्छ । संरचनाको हिसाबले बिराटनगर तुलनात्मक रूपमा बलियो छ । त्यसैले सबै कुरा हेरेर उपयुुक्त स्थानमा प्रदेश राजधानी बनाउनुपर्छ ।


इटहरी, त्यसो नभए बिकेन्दीत राजधानी – सिताराम रायमाझी, बिराटचोक

मेरो घर भएको हिसाबले स्वार्थ हेर्ने हो भने त गोठगाउं हो तर सबैलाई पायक पर्ने हिसाबले चाहिँ इटहरी जत्तिको ठाउँ अन्यत्र छैन ।  त्यसो नभए मुख्यमन्त्री शेरधन राइले भन्नुभएको जस्तो सबै ठाउँको समान बिकासका लागि बिकेन्दीत राजधानीको अबधारणा ठिक हुन्छ ।


इटहरी वा गोठगाउं नै सहज – हेमन्त सुवेदी (श्याम), बेलबारी मोरङ

पहाडी भेगका जनतालाई समेत मध्यनजर गरेर
इटहरी र गोठगाउंलाइ राजधानी बनाउदा उपयुक्त र सहज हुन्छ । तराई क्षेत्रको लागि पनि त्यो भन्दा उपयुक्त ठाउँ अन्यत्र छैन ।


इटहरी नै ठिक हो नि – रोहित खत्री, फिक्कल इलाम

हाम्रो लागि त दमक भैदिए हुन्थ्यो जस्तो लाग्छ तर सबैको पायक हेर्नुपर्यो  । त्यसैले अहिले इटहरी वा गोठगाउं नै ठिक हुन्छ । किनभने सबैतिरबाट आउन जान नि सजिलो छ । जनताको चाहना पनि बिराटनगरभन्दा इटहरी नै भैदिए हुन्थ्यो भन्ने छ । 


गोठगाउँ वा इटहरी नै ठिक – नवीन थापा क्षेत्री, केराबारी

प्रदेश १ को राजधानी भारतको सिमानामा रहेको बिराटनगरमा  होइन, गोठगाउमा हुनु हरेक हिसाबले राम्रो हुन्छ । यदि त्यसो हुन नसके इटहरी दोश्रो र धरान तेस्रो बिकाल्प हुनसक्छ । तर बिराटनगर राजधानीको लागि उपयुक्त होइन ।