२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
ताजा अपडेट

लोहोन्द्रा खोलाको बालुवा निकालेरै गुजारा चलाउंछन् मजदुरहरु

Author Uttari Morang
शुक्रबार, मंसिर २१, २०७५
लोहोन्द्रा खोलाको बालुवा निकालेरै गुजारा चलाउंछन् मजदुरहरु

अनिल बराल, बेलबारी मोरङ । दैनिकजसो बिहान उज्यालो भएपछि बेलबारी र सुन्दरहरैचा नगरपालिकाका मजदुरहरु लोहन्द्राको किनारमा पुग्छन् । जाडो गर्मी नभनीकन बिहान ५/६ बजेतिर खोलामा पुगेका हुन्छन् अनि शुरु हुन्छ पानीभित्र रहेको बालुवा निकाल्ने, चाल्ने । 

समथर जमिनमा थुपारेको बालुवा, गिट्टी र ढुंगा ओसार्न ट्र्याक्टर तयारीमा हुन्छन् । धेरै मजदुर बालुवा पानीबाट निकाल्ने, चाल्ने काममा व्यस्त देखिन्छन् ।
सुन्दरहरैचाका लाल बहादुर कड्वालल पनि लोहान्द्रा खोलाबाट बालुवा निकालेर कमाएको रकमले आफ्नो दैनिक जीवन चलाइरहेका छन्  । उनी बिहान ५ बजे खोलामा आइपुगेका हुन्छन । खोलामा बालुवा चाल्दै गरेका सुन्दरहरैचाका कड्वाल पानीभित्रबाट निकालिएको बालुवा बाट ढुङ्गा, गीटी र बालुवा छानेर छुट्टा छुट्टै बेच्ने गरेको बताउछन् । छानेर छुट्याइएको मसिनो बालुवाले वाल प्लस्तर गर्ने, केहि खस्रोले इट्टा जोड्ने तथा खस्रोले पिल्लर बनाउने र त्यहाँबाट निकालिएका ढुङ्गा पनि सोलिङ गर्ने गरी छुट्टाछुट्टै बिक्रि हुने उनले सुनाए ।
खोलामै बालुवा निकाल्ने अम्बर बहादुर बिक बिहान ६ बजे देखि साँझ ६ बजेसम्म खोलामै काम गर्छन । दिनको ८ सय सम्म कमाईहुने उनले बताए । छोरो सहित मन कुमारी बिक पनि खोलामा यहि काम गर्छिन । खोलाबाट भएको आम्दानीले घरखर्च टरेको उनले बताइन् ।
खोलाको किनारमा बालुवा चाल्ने र बालुवा बोक्ने ट्यक्टरको धुइँरोजस्तै हुन्छ । बुढापाका, तन्नेरी, युवा, युवती पनि सो काममा व्यस्त देखिन्छन् । खोलाको दुवै किनारामा सयौ यस्ता मजदुरहरु दैनिक बालुवा निकाल्दै आफ्नो कार्यथलो बनाइरहेका छन्

लोहान्द्रा खोलाले वर्षायाममा बालुवा, गिट्टी र ढुंगा ल्याएर थुपारिदिन्छ । थुपारिएको बालुवा मजदुरहरुले चाल्छन र बिक्री गर्छन् । ढुङ्गा र गिटी खोलाबाटै प्रति ट्याक्टर १ हजारमा बिक्री हुन्छ भने बालुवा ८ सयमा बिक्री हुन्छ । सयौँ मजदुरको जमघट र कार्यथलो त्यही भएकाले चिया खाजाको व्यापार पनि खोलामै हुन्छ ।