२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

गणतन्त्र र राजतन्त्रबारे राप्रपा धनकुटामा भाँडभैलो, पार्टी नै छाडे डेढ सयभन्दा बढीले

Author Uttari Morang
आइतबार, चैत्र १०, २०७५
गणतन्त्र र राजतन्त्रबारे राप्रपा धनकुटामा भाँडभैलो, पार्टी नै छाडे डेढ सयभन्दा बढीले

धनकुटा ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) केन्द्रीय स्तरमा एक अर्कामा विलय भई राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त) भएपनि  राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) धनकुटाका जिल्ला स्तरीय कार्यकर्ताहरुले सो एकता अवैधानिक र संविधानको मर्म विपरित भएको भन्दै  व्यापक विद्रोह गरेका छन् ।
राप्रपा (प्रजातान्त्रिक) धनकुटाका पूर्व केन्द्रिय सदस्य पदमबहादुर बस्नेत र पूर्व जिल्ला सभापति कुमारबहादुर थापा समेतको संयुक्त आह्वानमा शनिबार प्यासिफिक होटलमा आयोजना गरिएको करिब एक सय पचास कार्यकर्ताहरुको भेलाले पार्टी छोडेर  स्वतन्त्र  बस्ने निर्णय गरेका हुन् ।

पूर्व प्रधानमन्त्री तथा नेता स्व. सूर्यबहादुर थापाले आफूहरुलाई अब मुलुकले गणतन्त्रको बाटो समातिसकेकोले कुनै पनि बहानामा राजतान्त्रिक व्यवस्थामा फर्कन नसकिने बताएको र बर्तमान संविधानले नै मुलुकलाई खास निर्देश गरिसकेकोले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था स्वीकार गर्नुपर्ने भन्दै बिद्रोह गरेका हुुन् । विश्वमा सबैभन्दा उत्कृष्ट व्यवस्था मानिएकोले यो व्यवस्थाको विकल्प कुनै हालतमा कुनै पनि प्रकारको राजतन्त्र अव नेपालमा फर्काउन नसकिने गरी सैध्दान्तिक, वैचारिक दृष्टि प्रदान गरेर जानुपर्नेमा (प्रजातान्त्रिक) र रापपा (राष्ट्रवादी) वीचको हालको एकता संविधानको भावना र जनताको माग समेतको विपरित भएकोले सो एकता मान्य नहुने उनीहरूले  तर्क गरेका छन् ।

उनीहरुले राप्रपा(प्रजातान्त्रिक) धनकुटाका नेता समेत रहेका स्व. सूर्यबहादुर थापाका पुत्र सुनिलबहादुर थापाले यहाँका कार्यकर्तामाझ पार्टी एकताको औचित्य र उपादेयताबारे कुनै छलफल नै नगरी आफू खुसी एकता प्रक्रियामा भाग लिएको र आफ्नै वाबुले तय गरेको सिद्धान्त विपरित समेत हुने गरी राजापरस्त राप्रपा (राष्ट्रवादी) संग भएको एकतालाई स्वीकार गर्दै त्यसैमा समेटिन आह्वान गरेकाले उनी एक्रलैले गरेको व्यक्तिगत निर्णयमा आफूहरु सहभागी नहुने र आफूहरु हाललाई कुनै पनि दलको सदस्य नहुने बैठकले निर्णय गरेको  राप्रपाका कार्यकर्ता यज्ञबहादुर कार्कीले बताए ।

पूर्व मन्त्री समेत रहेका सुनिलबहादुर थापाले विराटनगरमा गरेको भाषणमा एकातिर संघीय लोकतान्त्रिक गणतन्त्रमा आफ्नो प्रतिवध्दता रहेको भनेको र अर्काेतिर राजावादी पार्टीसंग एकता गरी त्यही पार्टीमा आवध्द हुन कार्यकर्ताहरुलाई आह्वान गरेकाले धनकुटाका कार्यकर्ताहरुमा आक्रोश तथा अन्योल छाएको असन्तुष्टहरुको तर्क छ  ।

जिल्लाका विभिन्न भेगबाट धनकुटामा आएका कार्यकर्ताहरुको भेलाको सभापतित्व सुनिलबहादुर थापा कै भाइ कुमारबहादुर थापाले नै गरेका थिए । सुनिलबहादुर थापाले आफनो सैध्दान्तिक अन्योलता र अस्पष्टतालाई आफै धनकुटामा आई स्पष्ट पार्न समेत कार्यकर्ताहरुले भेलामा अपिल गरेका छन् । कतिपय कार्यकर्ताले सूर्यबहादुर पुत्र सुनिलबहादुर थापा केही समय भित्रै कांग्रेसमा प्रवेश गर्नै लागेकाले कार्यकर्तालाई गुमराहमा राख्न खोजेको आरोप पनि लगाए ।
सबै कार्यकर्ताको मानसिकता भने आफूहरु राजावादी नभई संघीय गणतन्त्रमा नै विश्वास गर्दै राप्रपा (प्रजातान्त्रिक) लाई नै पुनस्र्थापित गर्ने पक्षमा देखिएका छन् ।

सुनिलबहादुर थापा चुनाबपछि कार्यकर्ता माझ देखिएका छैनन् । थापाले वि सं २०३६ सालमा आफ्ना बाबु प्रधानमन्त्री हुँदा छिन्ताङ हत्या काण्ड मच्चिएकोले त्यहाँका सहिदहरुलाई मन्त्री परिषदबाट राष्ट्रिय सहिदका रुपमा मान्यता दिलाउने कार्य गरे पनि त्यसपछि त्यहाँका सहिदलाई राहत दिने कुनै प्रकियाको थालनी नगरेको र धनकुटालाई राजधानी बनाउने घोषणा गरी त्यसका निम्ति कुनै पनि पहलकदमी नगरेपछि कार्यकर्तामा निराशा छाएको उनीहरूको आरोप छ ।  कार्यकर्ता माझ छलफल नै नचलाई राप्रपा (संयुक्त) बनाएकोले उनलाई कार्यकर्ताले सैध्दान्तिक विचलनमा परेको आरोप समेेत लगाएका छन् ।