संस्कार पाठशालाको सहयोगार्थ बिराटचौकमा महापुराण लगाउंँदै राधाकृष्ण पराेपकार संस्था
Uttari Morang
विराटचोक, माेरङ/ लामाे समयदेखि संस्कार पाठशाला संचालन गरेर बालबालिकालाई संस्कार सम्वन्धि ज्ञान बांँढ्दै आएकाे सुन्दरहरैंचा वडा नम्बर १२ मा रहेको राधाकृष्ण पराेपकार संस्थाले अक्षयकाेष निर्माणका लागि फाल्गुर्ण २१ गते देखि २८ गते सम्म श्रीमद् भागवत ज्ञान महायज्ञ धान्याचल पुराण लगाउने भएको छ ।
शनिबार आयोजक संस्था राधाकृष्ण बहुउदेश्य परोपकारले पत्रकार सम्मेलन मार्फत सो कुरा जनाएको हो । बहुउदेश्यीय सामुदायिक भवन निर्माण तथा अक्षयकोष स्थापना गर्ने, धार्मिक सांस्कृतिक, सामाजिक सद्भाव असभवृद्धि गर्ने मुख्य उदेश्यका साथ पुराणको आयोजना गरिएको संचालक समितिका अध्यक्ष गणेशप्रसाद फुयालले जानकारी दिए ।
महायज्ञका व्यासाचार्यहरुमा नेपाल सरकारले भ्रमण वर्ष २०२० का लागि अन्तराष्ट्रिय आध्यात्मिक पर्यटन प्रवद्धन सद्भावनादुतका रुपमा नियुक्त गरेका भागवत रसिक आचार्य श्री भूवन घिमिरे प्रमुख बाचक तथा प. कृष्ण खतिवडा मूलपाठ पारायणमा रहने भएका छन् ।
धार्मीक आस्थाको प्रतीकको रुपमा रहेको सो मन्दिरलाई सुदुर भविष्यसम्म नित्य पुजाअर्चना साथै धार्मिक सांस्कृतिक र सामाजिक संस्कारका रुपमा विकास गर्न ५० लाखको अक्षयकोष स्थापना गर्ने लक्ष लिइएको संस्थाका सचिव माधवप्रसाद दाहालले बताए ।
२०६८ सालमा स्थापना भएको सो मन्दिरको जग्गा तीन कठ्ठा १७ धुरमा रहेको छ । २०७२ देखि संस्कार पाठसालाका रुपमा यहा रुद्रि, सप्तसति चण्डी, वेद लगायत पठापाठन समेत हुदैआएको छ ।
उक्त अनुष्ठानमा बौद्ध, किरात धर्मगुरुहरुको प्रबचन समेत राखिएको आयोजकले जनाएको छ ।






