२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ

Author Uttari Morang
आइतबार, आश्विन ०६, २०८१
पथरीमा ससुराको हत्या गरी फरार भएको ज्वाइँ पक्राउ

मोरङको पथरीशनिश्चरेमा ससुराको हत्या गरी फरार भएका ज्वाइँलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा नं.–७ स्थित मायालु चोकका ६० वर्षीय चन्द्रबहादुर तामाङको हत्या गरी फरार भएका उनका ज्वाइँ २७ वर्षीय रविन राईलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटा र इलाका प्रहरी कार्यालय पथरीको संयुक्त टोलीले मूलघाटबाट आइतबार १० बजे विहान पक्राउ गरेको इप्रका पथरीका डीएसपी मोहनविक्रम दाहालले जानकारी दिए । उनका अनुसार पक्राउ परेका र मृत आफ्नै ज्वाइँ ससुरा हुन ।
ससुरा तामाङको हत्या गरी ज्वाइँ रविन फरार भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘घरमा दुई जना मात्रै हुनु र घटनापछि एकाएक बेपत्ता हुनुले पनि उनकै संलग्नता रहेको हो कि भनेर अनुसन्धान थालेका थियौं । हत्या गरेर रविन भोगेको र खोज्दै जाँदा मूलघाटमा आज बिहान भेटिएपछि निन्यत्रणमा लिएका हौं । पथरी ल्याएर थप सोधपुछ तथा अन्य घटनाका सम्बन्धमा अनुसन्धान गर्ने र पोस्टमार्टमको रिपोर्टले घटना किन भएको हो भन्ने खुल्ने छ ।’
चन्द्रबहादुर तामाङको हत्या गरिएको अवस्थामा शनिबार बिहान ७ः२० बजेतिर आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा तामाङको शव फेला परेको थियो ।
मृतकको टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेका चोटहरु देखिएको बताउँदै, डीएसपी दाहालले भने, ‘शव नजिकै रगत लतपतिएको अवस्थामा धारिलो हतियार खुर्पा फेला परेको थियो । घटनाको प्रकृति हेर्दा खुर्पाले प्रहार गरेर हत्या गरे जस्तो देखिन्थ्यो ।’
पक्राउ परेका रविन ससुराली घरमा बस्दै आएको थिए । घरमा ज्वाइँ ससुरा मात्रै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ ।
चन्द्रबहादुरकी छोरी तथा रविनकी पत्नी वैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ । चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए । उनका अनुसार दुवै जना (ज्वाइँ ससुरा) शुक्रबार राति घरमै मदिरा सेवन गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु सधैं मदिरा सेवन गरेर होहल्ला गर्ने गरेको छिमेकीले बताएका छन । मदिरा सेवनपछि उत्पन्न विवाद हत्यामा परिणत भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।