२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै

Author Uttari Morang
सोमबार, माघ २८, २०७५
सुर्यबहादुर थापा पढेको स्कुलको हिरक जयन्ती मनाइयो, स्कुल भने धराशायी बन्दै

अम्बिका भण्डारी, मुगा (धनकुटा) / धनकुटाको पाख्रीबास ७ मुगामा अबस्थित श्री राम माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव तथा हिरक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।

पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा  लगायत राज्यको उपल्लो निकायमा पुगेका दर्जनौं थापाकाजीहरु पढेको सो स्कुलले माघ २७ गते विभिन्न कार्यक्रम गरी हिरक जयन्ती मनाएको हो ।

प्रदेश नं १ का प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङको प्रमुख आतिथ्यता र विद्यालय ब्यबस्थापन समिति अध्यक्ष  पुर्ण बहादुर राइको सभापतित्वमा भएको कार्यक्रममा सुर्यबहादुरका छोरा पुर्व बाणिज्य तथा आपूर्ति मन्त्री सुनिल बहादुर थापा, विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष तथा राप्रपा नेता कुमारकाजी थापा,नेपाली सेनाका पुर्व रथी कर्णेल कृष्णनारायण सिंह थापा, ब्यबस्थापन समितिका पुर्व अध्यक्ष अजित नारायण थापा, नेता कुमारकाजी थापा, प्रतिनिधि सभाका सांसद राजेन्द्र राइ, धनकुटा २ का प्रदेश सांसद इन्द्रमणी पराजुली लगायतको आतिथ्यता थियो ।

शनिबार भएको कार्यक्रममा प्रमुख अतिथि लगायतले विद्यालयका संस्थापक अध्यक्ष  स्व.राजनारायण सिंह थापाको शालिकमा माल्यार्पण गरेर कार्यक्रम शुरु गरेका थिए ।

हिरक जयन्तीको अबसरमा विद्यालयका जग्गादाता, चन्दादाताहरु, अक्षयकोष दाता, पुर्व प्रधानमन्त्री सुर्यबहादुर थापा, पुर्व उद्योग  मन्त्री सुनिल बहादुर थापा, नेपाली सेनाका पुर्व कर्णेल कृष्णनारायण सिंह थापा, समाजसेवी प्रताप थापा, ब्यबस्थापन समितिका पुर्व अध्यक्ष अजित नारायण थापा, कुमारकाजी थापा लगायतलाई सम्मानित गरिएको थियो ।

एउटा पनि पक्की भवन नभएको र शिक्षा संकायमा कक्षा १२ सम्म पढाई हुने विद्यालयमा ३ सय १८ जना विद्यार्थी र १८ जना शिक्षक छन् । हिरक जयन्तीको अबसरमा विद्यालयका प्रधानाध्यापक चन्द्रकुमार राइले गत आर्थिक बर्षको ८० लाख बराबरको हस्तलिखित आर्थिक  प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीतहरु प्रस्तुत गरेका थिए । पुर्व मन्त्री, प्रदेश प्रमुख र सांसद लगायतको जमघट भएपनि कार्यक्रममा जिल्लामा रहेका कोही पत्रकार पनि उपस्थित थिएनन् ।

हिरक जयन्ती कार्यक्रममा बोल्ने बक्ताहरुले विद्यालयलाई अहिलेको अबस्थासम्म ल्याइ पुर्याउने अग्रजहरुको स्मरण नगरिएको र हाल विद्यालयको अबस्था नाजुक बनेको   गुनासो गरेका थिए  । 

कार्यक्रममा पुर्व उद्योग बाणिज्य मन्त्री सुनिल थापा, धनकुटाका संघीय संसद राजेन्द्र राइ, प्रदेश सांसद इन्द्रमणी पराजुली, नेपाली सेनाका पुर्व कर्णेल कृष्णनारायण सिंह थापा, विद्यालय ब्यबस्थापन समितिका पुर्व अध्यक्ष अजित नारायण थापा, कुमारकाजी थापा, जीपी कोइराला फाउन्डेसन प्रदेश १ की अध्यक्ष इन्दिरा थापा, समाजसेवी प्रताप थापा, महात्मा गान्धी स्मृति फाउन्डेसनका अध्यक्ष अर्जुन थापा, पाख्रीबास नगरपालिकाका नगरप्रमुख लगायत पुर्व विद्यार्थी तथा अतिथिहरुले समेत श्री माविको स्तरोन्नतिका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । बक्ताहरुले यस स्कुललाई प्राबिधिक विद्यालय बनाउन पहल गर्नुपर्ने समेत बताएका थिए  ।