नेपाल भ्रमण बर्ष २०२० को प्रबर्द्धनका लागि अमेरिकामा पनि शुरु भो प्रचार अभियान
Uttari Morang
नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासा) ले विभिन्न कार्यक्रमसहित अभियान थालेको छ ।
नासाका अध्यक्ष विनय अर्याल, पूर्व अध्यक्षहरू राम चन्द्र बराल र संजिव सापकोटा, नासाका बरिष्ठ उपाध्यक्ष अम्बिका लोहनी, नेप्लिज एसोसिएसन जर्जियाका अध्यक्ष कुमार केसी लगायतले पनि भ्रमण बर्षलाई सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।
१९९१ मा एटलान्टाबाट नै सुरु भएको नासाको आफ्नो कार्यकालको पहिलो बैठक पनि एटलान्टाबाट नै सुरु गरेको बताउदै अध्यक्ष अर्यालले भ्रमण बर्ष प्रबर्द्धनको अभियान पनि त्यहीँबाट शुरु गरेको बताए ।
कार्यक्रम संयोजक पर्यटनदुत तथा नासाका पूर्व अध्यक्ष राजा घलेले एक बर्ष भरि नासाले स्थानीय नेपाली सस्थाहरुसंग मिलेर बिबिध कार्यक्रम संचालन गर्ने बताए ।
भ्रमण बर्ष प्रबर्द्धनका अमेरिकामा अन्य चारवटा कार्यक्रम पनि गरिने छ । जस अन्तरगत भ्रमण बर्षको सन्देश प्रवाह हुने गरी अमेरिका मै हुलाक टिकट प्रकाशन गर्ने योजना छ । त्यसैगरी एटलान्टा शहरको यातायात बिभागसंग समन्वय गरी गाडी चढ्ने र उत्रने सार्वजनिक स्थलहरुमा भ्रमण बर्षको तुलहरु राख्न थालिएको छ ।
भ्रमण बर्ष प्रबर्द्धनका लागि सार्वजनिक स्थलमा प्रचार प्रसार सामग्री प्रदर्शन, नेपाली ब्यबसायीहरुलाई प्रचार सामाग्री हस्तान्तरण, फेसबुक लगायत सामाजिक संजालहरुमा भ्रमण बर्षको लोगोलाई प्रोफाइलको रुपमा प्रयोग गरी र ईमेल हस्ताक्षरको रुपमा भ्रमण बर्षको संदेश प्रवाह पनि गर्न थालिएको छ ।
यसरी नै अमेरिकाका विभिन्न राज्यका शहरहरुमा प्रचार प्रसार सामग्री तथा तुलहरु राख्न सके भ्रमण बर्षको संदेश अमेरिका भरि नै सहज तरिकाले पुग्ने नासाका अध्यक्ष बिनय अर्यालले बताए ।
अमेरिकामा भएका नेपालीका सबै खाले व्यवसायमा भ्रमण बर्षका प्रचार सामाग्रीहरु प्रदर्शन गर्ने कार्यक्रम पनि शुरु गरिएको छ । जस अन्तरगत सिएनएनको मुख्यालयमा व्यवसायी रामजी पराजुली लगायतलाई प्रचार सामग्री हस्तान्तरण गरिएको छ ।
नेप्लिज एसोसिएसन अफ जर्जिया (नाग) को सहयोगमा भएको अभियानका क्रममा सिनेटर शेख रहमानले आफु नेपाल भ्रमण बर्षलाई सहयोग गर्न २०२० मा नेपाल जाने घोषणा गरेका छन् । उनले एट्लाण्टामा नेपाल दिबस मनाउन सिनेटमा प्रस्ताब लाने बताए ।
अमेरीकाको एटलान्टामा एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाल सरकारका तत्कालीन कानुन मन्त्री भानुभक्त ढकालले केही दिन अघि कार्यक्रमको सुरुवात गरेका थिए ।






