२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा

Author Uttari Morang
मंगलबार, मंसिर २४, २०७६
दुर्गन्धित र अव्यवस्थित भएछ उदयपुर अस्पताल, सपार्ने प्रयासमा लागे स्थानीय युवा

जतासुकै फोहरका थुप्रो, हेर्दै आङ जुरुङ हुने फोहरी र कवाडीमा परिणत भइसकेका बेड, कहिल्यै सफा नगरिएका तन्ना (बेडसिट), जतासुकै फालिएका मेडिकल ग्लोब (पन्जा), वरिपरि पानी जम्ने खाल्डाहरू र मच्छर फैलाउने झाडी…यो कुनै सिनेमा सुटिङ गर्नका लागि बनाइएको भूतघरको दृश्य होइन ।

उदयपुरको गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरको नाजुक अवस्था झल्काउने दृश्य हो । बिहीबार जब जिल्ला फुटबल सङ्घको अगुवाइमा अस्पताल निरीक्षणका लागि उदयपुरे युवाहरू पुगे, त्यहाँका स्थिति देखेर उनीहरू आश्चर्यचकीत र आक्रोसित भए ।

“बिमारी भएर उपचारका लागि जाने ठाउँमा बिमारी त सद्धे मानिस पनि जाँदा बिमारी हुने अवस्था देखेर हामीलाई दुःख लाग्यो,” युवा समूहका नेतृत्व गरेर गएका अखिल नेपाल फुटबल संघ (एन्फा) का राष्ट्रिय प्रवक्ता एवं नेकपा नेता किरण राईले भने, “गरिब दुःखी उदयपुरे खासगरि त्रियुगा नगरपालिकाका जनसमुदायले उपचारार्थ प्रयोग हुने अस्पतालको अवस्था सुधार गर्नको लागि अस्पताल विकास समितिका अध्यक्ष जि.स.स. प्रमुख खडग परियार तथा नगर प्रमुख बलदेव चौधरीको ध्यानाकर्षण गराएका छौं ।”

अस्पताल व्यवस्थापन प्रमुखलाई न्यूनतम सरसफाइ, अन्धकारमय अस्पतालको बत्ती मर्मत, अनावश्यक झाडी फडानी गर्नको लागि निर्देशन दिइएको राईले बताए ।

सरकारबाट नि:शुल्क उपलब्ध हुने ७० प्रकारको औषधि मध्ये २०-३० प्रकारको औषधि मात्र उपलब्ध भएको पनि फेला परेको उनले बताए ।

सबै समस्याहरू एक साताभित्र सुधार गर्ने प्रतिबद्धता लिएर आएको र यदि तोकिएको समयमा सुधारका लक्षण नदेखिए नागरिक सरोकारवालाको हैसियतले समाजिक अभियान थलिने नेता राईले बताएका छन् ।