सलकपुरमा राजमार्ग किनारकै पाँचतले घर दिँदा पनि कसैले बनाउन खोजेनन् क्वारेन्टाइन
Uttari Morang
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मोरङ सुन्दरहरैचाका युवराज पौडेलले आफ्नो भर्खरै निर्माण भएको ५ तले घर क्वारेन्टाइनका लागि सरकारलाई दिने निर्णय गरेको एक हप्ता पुग्न लाग्दा पनि कुनै निकायले चासो देखाएका छैनन् ।
मोरङ सुन्दरहरैचा ९ सलकपुरका युवराज पौडेलले चैत ६ गते कोरोनाको क्वारेन्टाइनका लागि पुर्व पश्चिम राजमार्ग किनारमै रहेकोे पाँच तले घर निशुल्क दिने घोषणा गरेका थिए । 
१ नं. प्रदेश सरकार र नेेपाली सेना र स्थानीय सरकारहरुको पूर्व तयारीलाई साथ दिन पौडेलले आफ्नो ५ तले घर क्वारेनटाइनका लागि नि:शुल्क उपलव्ध गराउने घोषणा गरेका हुन् ।
आफ्नो १० कोठा रहेको ५ तले घर आवश्यक परेको खण्डमा १ सय जना भन्दा बढीलाई उपचार गर्न सक्ने क्षमताको रहेको पौडेलले बताए । स्थानिय सरकार, प्रदेश सरकार र सम्वधित निकायले आवश्यकता महशुस गरेको खण्डमा क्वारेन्टाइन सेवाका लागि आफ्नो घर उपलव्ध गराउने उनले बताएका छन् ।
पौडेलले चैत ६ गते फेसबुक मार्फत कोरोना नियन्त्रण नभएसम्मका लागि आफ्नो घर निशुल्क दिने घोषणा गरेका थिए । त्यसपछि मनकारी पौडेल सामाजिक संजाल र सञ्चारमाध्यमहरुमा चर्चामा छन् तर चैत ११ गते अर्थात मंगलबार बिहानसम्म कुनै पनि निकायले क्वारेन्टाइनका लागि सम्पर्क नगरेको पौडेलले पुर्वेली डटकमलाई बताए ।
चिनमा पहिलो पटक देखा परेको कोरोना भाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलदै नेपालसँग खुल्ला सिमाना जोडिएको भारतमा समेत संक्रमित फेला पर्न थालेपछि प्रदेश नम्वर १ सरकारले उच्च सर्तकता अपनाउदै पुर्वी नाका झापा, मोरङ र उदयपुरमा क्वारेन्टाइन निमार्ण गरेको छ ।
संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनगर गर्दै मोरङको टाँडी र सुनसरी र उदयपुरको सिमावर्ती क्षेत्र श्रीलंका टापुमा नेपाली सेना र प्रदेश सरकारको समन्वयमा ६ सय जनालाई राख्न सक्ने गरीको क्वारेन्टाइन स्थापना गरिएको छ ।






