२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

बेलबारीका ५ सयभन्दा बढीले पाए अपाङ्गताको परिचयपत्र, दर्जन सञ्चारकर्मी सम्मानित

Author Uttari Morang
आइतबार, मंसिर २८, २०७७
बेलबारीका ५ सयभन्दा बढीले पाए अपाङ्गताको परिचयपत्र, दर्जन सञ्चारकर्मी सम्मानित

बेलबारी नगरपालिका अन्तरगतको महिला तथा वालवालिका शाखाले हालसम्म ५ सय तीन जनालाई अपाङ्गताको परिचय पत्र बितरण गरेको छ ।

शाखाका अनुसार अपाङ्गताको अबस्था हेरी उनीहरूलाई विभिन्न खालका परिचयपत्र दिइएको हो ।
बेलबारी नगरपालिका र न्यायिक समितिको आयोजनामा हालै आयोजित लैङ्गिक हिंसा निवारण सम्बन्धि एक कार्यक्रममा सो जानकारी दिइएको हो ।

सोही कार्यक्रममै लैङ्गिक हिंसा विरुद्धको अभियानमा सहयोग पुर्याएको भन्दै झण्डै एक दर्जन पत्रकार, बेलबारीका सामाजिक अभियन्ता, महिला उद्धमी लगायतलाई पनि सम्मान गरिएको छ ।
सम्मानित हुने पत्रकारहरूमा भक्तशेर लिम्बु, अम्बिका भण्डारी, केशु बिरही, बिवेक मिश्र, भोजराज बस्नेत, बबिता राई, अजित धिमाल, अर्जुुन कुलुुुुङ राइ, नरेन्द्र बस्नेत, ऋषि राई, अशोक गुरुङ, नारायण राई लगायत छन् । उनीहरूलाई सम्मानपत्र र खादाले सम्मानित गरिएको थियो ।

प्रदेश नं १ की सांसद यशोदा अधिकारीको प्रमुख आतिथ्यता र बेलबारी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक ढाकाकुमारी पराजुलीको अध्यक्षतामा बिहीबार भएको कार्यक्रममा कानुन कार्यान्वयन गर्दै महिला हिंसा अन्त्य का निम्ति महिलामात्र सचेत भएर नपुग्ने सिङ्गो समाज नै लाग्नुपर्नेमा जोड दिइएको छ ।

मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले महिला हिंसा अन्त्यका निम्ति घर घरबाटै परिवर्तन सुरु गर्नुपर्ने भन्दै जन्मदर्ता, विबाहदर्ता,नागरिकता प्राप्ति जस्ता विषयमा पनि पुरुषका तुलनामा महिला नै विभेदमा परेको र आफूले सकेसम्म सहजीकरण गरिरहेको बताए।

कार्यक्रमना अधिवक्ता रुक्मिणा दाहालले कानुनका विषयमा प्रस्तुतिकरण गरेकी थिइन्। समाजमा महिलाहरू बलात्कारजस्ता जघन्य अपराधबाट पीडित भइ न्यायका लागि गुहार माग्दा उल्टो महिलालाई नै गलत र दोषी देख्ने सामाजिक परिवेश अहिले पनि जीवित रहेको र हरेक क्षेत्रमा महिलाहरूको समान पहुँच सुनिश्चितता नभएसम्म महिला हिंसामुक्त समाजको कल्पना गर्न नसकिने बताइन् ।

बेलबारी नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक ढाकाकुमारी पराजुलीले समाजले निर्माण गरेको विभेद मानवता विरुद्धको कार्य भएको बताइन् । उनले व्यवस्था परिवर्तन भएपनि अवस्था र व्यवहार परिवर्तन नभएको र नगरपालिकाले बर्षभरि नै हिंसाविरुद्धका अभियान संचालन गर्ने बताइन् ।