२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि

Author Uttari Morang
शनिबार, पुष २५, २०७७
धनकुटाको राजारानीले जित्यो स्व. संजोग स्मृति फुटबल प्रतियोगिताको उपाधि

‍‍बेलबारी फुटबल क्लबद्वारा आयोजित स्व. संजोक स्मृति नकआउट फुटबल प्रतियोगिताको उपाधि धनकुटाको रारा फुटबल क्लब राजारानीले जितेको छ ।

शनिबार भएको फाइनल खेलमा धनकुटाले सताक्षीधाम स्पोटिङ क्लब, झापालाई टाइब्रेकरमा ४–३ गोलको अन्तरले हराउँदै उपाधि हात पारेको हो ।

बेलबारी वडा नं. ३ स्थित प्रस्तावित बेलबारी रंगशालामा धनकुटा र झापा बिचको खेल निकै रोमाञ्चक भएको थियो । निर्धारित समय गोलरहित बराबरी भएपछि टाइब्रेकर भएको थियो ।

टाइब्रेकरमा धनकुटाको तर्फबाट बुद्ध चेम्जोङ, उमेश कार्की, सुनिल खड्का र सूर्य अधिकारीले गोल गरेका थिए । झापाबाट भने प्रमोद चौधरी, एन्जल गुरुङ र शिशिर लेखीले गोल गरेका थिए । धनकुटाका रुपेश केसी, झापाका विशाल दर्जी र संजित राई भने गोल गर्न चुकेका थिए ।

प्रतियोगिताको विजेता धनकुटाले उपाधिसहित नगद ५१ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता झापाले मेडल, ट्रफी सहित ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच धनकुटाका प्रवेश दनुवार घोषित भए । उनले ट्रफीसहित नगद पुरस्कार रु.२ हजार ५ सय ५५ प्राप्त गरे । उत्कृष्ट गोल किपर राजारानीका सूर्य अधिकारी घोषित भए । अधिकारीले ट्रफीसहित नगद पुरस्कार रु.५ हजार ५ सय ५५ प्राप्त गरे ।

प्रतियोगितामा रारा धनकुटाका प्रशिक्षक सुक्पाल च्याम्जोङ उत्कृष्ट प्रशिक्षक, झापाका सनजित राई उत्कृष्ट डिफेन्स, बेलबारी फुटबल क्लबका हुइलसन गिरी वेस्ट राइजिङ प्लेयर, सर्वाधिक गोल कर्ता शिशिर लेखी र  सर्वोत्कृष्ट खेलाडी एन्जल गुरुङ घोषित भए ।
बेलबारी फुटबल क्लबका खेलाडी स्व. सन्जोग लिम्बूको स्मृतिमा प्रतियोगिता गराइएको थियो । पुस १६ गतेदेखि भएको प्रतियोगितामा १० वटा टिमले भाग लिएका थिए ।