२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

साढे तीनसय बृद्धबृद्धाहरुलाई सिरक बितरण गर्दै महालक्ष्मी नगरपालिका

Author Uttari Morang
आइतबार, फाल्गुण ०१, २०७८
साढे तीनसय बृद्धबृद्धाहरुलाई सिरक बितरण गर्दै महालक्ष्मी नगरपालिका

धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरक्षेत्रका ज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरेको छ ।

नगरपालिकाले जाडोयाममा बृद्धबृद्धाहरुलाई न्यानो प्रदान गर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने अभियान थालेको हो ।
महालक्ष्मी नगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । शुक्रबार पहिलो दिन वडा नं.७ का १० जनालाई सिरक वितरण गरिएको थियो ।
धेरै बृद्धबृद्धाहरु हिड्न नसक्ने भएकाले उनीहरुको अवस्था अनुसार घर–घरमै पुगेर वा वडा–वडामा परिवारका सदस्यलाई बोलाएर सिरक वितरण गर्ने तयारी गरिएको छ । सिरक वितरणका लागि वडा कार्यालयहरुमार्फत ८० बर्षमाथिका ज्येष्ठ नागरिकको तथ्यांक संकलन गरिएको थियो । सो तथ्यांकका आधारमा सिरक वितरण गरिने नगरपालिकाले जनाएको छ ।
महालक्ष्मी नगरक्षेत्रमा ८० बर्षमाथिका करिब ३५० ज्येष्ठ नागरिक रहेको नगरपालिकाको तथ्यांक छ । उनीहरु सबैलाई सिरक वितरण गरिने नगर प्रमुख नेपालले जानकारी दिए ।

कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगर प्रमुख पर्शुराम नेपाल, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठ, सहायक महिला विकास निरीक्षक गिता लुइटेल लगायतले बृद्धबृद्धाहरुलाई सिरक वितरण गरे ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नेपालले जाडोयाममा कठ्यांग्रिएर बस्न नपरोस् भनेर बृद्धबृद्धाहरुलाई सिरक वितरण गरिएको बताए । ‘सबै बृद्धबृद्धाहरुसँग जाडो छल्न न्यानो लुगाहरु नहुँन सक्छ, यस्तो अवस्थामा उहाँहरु कठ्यांग्रिएर बस्न नपरोस् भनेर सिरक वितरण गर्न थालेका हौं,’ मेयर नेपालले भने, ‘७ नम्बर वडाबाट यो अभियान थालेका छौं, अब केही दिनभित्रै नगरक्षेत्रभरका सबै वडाका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गछौं ।
महालक्ष्मी नगरपालिकाले यसअघि पनि बृद्धबृद्धा लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । नगरले स्वास्थ्य शिविर सञ्चालन गरेर बृद्धबृद्धाहरुलाई निःशुल्क दाँत लगाइदिएको छ । उनीहरुलाई लौरो, हटव्याग वितरण गरिएको छ ।

त्यस्तै, बृद्धबृद्धाहरुको अनुभव संकलन गर्ने काम पनि गरिएको छ । बृद्धबृद्धाहरुलाई सम्मान र उचित स्याहार सुसारको खाँचो हुँने भएकाले उनीहरुको सम्मान स्वरुप र आवश्यकता अनुसार नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको नगर प्रमुख नेपाल बताउँछन् ।