२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
गाउँ/समाज

उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार

Author Uttari Morang
आइतबार, जेठ १५, २०७९
उत्तरी मोरङका चार पालिकाका बिरामीले नोबेलबाट फेरि पाउन थाले नि:शुल्क उपचार

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा. सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधारणलाई गाउँघरमै निःशुल्क उपचार सेवा सुचारु गराएका छन् ।

मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि केही बर्ष अघिदेखि टोल–टोलमा डाक्टर पठाएर विरामीहरुको निःशुल्क उपचार गर्ने अभियान कोरोनाको महामारीका कारण रोकिएकोमा अहिले पुनः सुरु गरिएको हो ।

शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्ने गर्छ । विरामीहरुलाई टोल–टोलमा भेला गरी डाक्टरहरुले उपचार गर्ने गरेका छन् । उपचार बापत विरामीले कुनै शुल्क तिर्नु पर्दैन ।

गरीबीका कारण पैसाको अभावमा कुनैपनि बिरामीले अकालमै मृत्युवरण गर्न नपरोस भनेर गाउँमै उपचारको व्यवस्था मिलाइदिएको डा.शर्मा बताउँछन् । उनी भन्छन्, ‘म यही क्षेत्रको मान्छे हुँ, कतिपय मान्छेले पैसा नभएर रोग पालेर बसिरहेका हुन्छन्, आफ्नो ठाउँका मान्छेलाई आफुले सकेको सहयोग गरौं भनेर टोल–टोलमै डाक्टर पठाएर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ ।’

बेलबारी–४ स्थायी घर भएका डा. शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । उनी गत प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्र अर्थात मोरङ क्षेत्र नं.३ बाट थोरै मतान्तरले पराजित भए । तरपनि उनी त्यो क्षेत्रका जनताको सेवामा निरन्तर लागिरहेका छन् ।
अभियान अन्तरगत नोबेलका बिशेषज्ञ डाक्टरसहितको टोली एम्बुलेन्स लिएर टोल–टोल पुग्ने गरेका छन् । उनीहरुले भिडियो एक्सरे, इसीजी, ल्याब टेष्टसहितको सेवा त्यहीँ प्रदान गर्छन् । सामान्य विरामीहरुलाई गाउँमै उपचार गरिन्छ । गम्भीर अवस्थामा विरामीलाई आफ्नै एम्बुलेन्समा राखेर नोबेल अस्पताल ल्याई उपचार गर्ने गरिएको अस्पतालका प्रवन्धक नारायण दाहालले बताए ।
गाउँघरमै बिशेषज्ञ डाक्टरबाट निःशुल्क उपचार सेवा पाउँदा सो क्षेत्रका सर्वसाधरण हर्षित छन् । उनीहरुले डा.शर्माको सेवा भावको प्रशंसा गर्ने गरेका छन् । समाजसेवाका क्षेत्रमा उदाहरणीय व्यक्तिको पहिचान बनाएका डा.शर्माले यसअघि पनि सयौं गरिब तथा बिपन्न बिरामीलाई उद्धार गरी निःशुल्क उपचार गराईसकेका छन् ।