२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

उत्तरी मोरङमा रोकिएन दुई हप्तादेखिको हात्ती आतंक, हात्तीकै आक्रमणबाट वृद्धको मृत्यु

Author Uttari Morang
बुधबार, मंसिर २१, २०७९
उत्तरी मोरङमा रोकिएन दुई हप्तादेखिको हात्ती आतंक, हात्तीकै आक्रमणबाट वृद्धको मृत्यु

मोरङको सुन्दरहरैँचा १० मा हात्तीको आक्रमणबाट मंगलबार एक बृद्वको मृत्यु भएको छ ।

हात्तीले सुन्दरहरैँचा १० स्थित त्रिवेणीचोक उत्तर तर्फको जङ्गलमा घाँस लिन गएको बेला आक्रमण गर्दा सोही ठाउँका ७५ वर्षीय बृद्व जयप्रसाद वास्तोलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख खगेन्द्र धमलाले जानकारी दिए ।

मृतक वास्तोलासँगै घाँस काट्न जंगलमा उनको श्रीमती समेत गएको साथै उनीले भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । मृतक वास्तोलाको शव पोष्टमाटमको लागि उर्लाबारी लगिएको प्रहरीको भनाइ छ ।

मंसिर पहिलो हप्ता मोरङको लेटाङ २ फडानी क्षेत्रमा देखा परेका डेढ दर्जन जङ्गली हात्ति त्यसयता लेटाङ, केराबारी र सुन्दरहरैंचा क्षेत्रको जंगल क्षेत्रमै छन् । हात्तीको बथान रातको समयमा गाउँमा बारम्बार पस्न थालेपछि दुई हप्ता यता मोरङ लेटाङ २ को पैतिस बिघे, बुधबारे, फडानिको तल्लो भाग र नर्सरी टोल तथा केराबारी ९ को बेलचौरी, खयरघारी, कुसुमे देवीझोडा, लगायत आसपासका बासिन्दा आतंकित हुँदै आएका छन् । केही घरगोठसहित धेरै बालीनालीमा क्षति पुर्याइसकेको हात्तीले मंगलबार राती केराबारी ९ का कृष्ण बास्तोलाको पक्की भकारी भत्काइदिएको छ । जसबाट ४५ मन धान पुर्ण रूपमा क्षति भएको स्थानीय डम्बर भण्डारीले बताए ।

सब डिभिजन बन कार्यालय बेलबारीका सुरक्षा कर्मीहरु र स्थानीय बासिन्दाले हात्ती जङ्गल तर्फ खेदाउने काम गरेपनि हात्ती आतंक नरोकिएको लेटाङ २ का वडाध्यक्ष तेज्प्रसाद तिम्सिना बताउँछन् ।

पछिल्लो समय मोरङको केराबारी, लेटाङ, सुन्दरहरैँचा, मिक्लाजुङ, बेलबारी लगायतका पालिकामा हात्तिले आंतक मच्चाउँदै आएको छ । सुन्दरहरैँचाको उत्तर तर्फको जङ्गलमा बच्चा सहित करिब २० वटा हात्ति रहेको स्थानीय चिरन भट्टराईले बताए ।