२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार

२९ आश्विन २०८३, बिहिबार
Uttari Morang
कृषि/सहकारी

लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित

Author Uttari Morang
बिहिबार, भाद्र २८, २०८०
लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित

कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतम लगायतले ढाकाटोपी, दोसल्ला र प्रमाणपत्र दिएर बुवाहरुलाई सम्मान गरेका थिए । वुबाको मुख हेर्ने दिन संस्थाले गर्ने सम्मान ग्रहण गर्न कतिपय बुवाहरु लौरो टेक्दै एक्लै आएका थिए भने कतिपय परिवारका सहयोगीको साथमा आएका थिए । सम्मान पाएकोमा सबैजसो बुवाहरु खुशी देखिन्थे । सबैजसो समुदायका वुबाहरुले सम्मान ग्रहण गर्दाको क्षण निकै रोचक देखिन्थ्यो ।

मोरङको उत्कृष्ट मध्येको एक मानिने लालिगुराँसले सामाजिक क्षेत्रमा बर्सेनि धेरै काम गर्दै आएको छ । यस सहकारीले बेलबारी बहुमुखी क्याम्पसमा छात्रबृतिको लागि १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । त्यसैगरी बर्षेनी सामुदायिक स्कुलमा अध्ययन गर्ने शेयर सदस्यका ४ जना छोराछोरी लाई १० हजारका दरले छात्रबृत्ति दिँदै आएको संस्थाका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।

आमाको मुख हेर्ने दिन आमाहरुलाइ पनि सम्मान गर्ने गरेको संस्थाले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । २९ बर्षे इतिहास बोकेको सहकारीले बिगतदेखि एम्बुलेन्स पनि संचालन गर्दै आएको छ ।