२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति

Author Uttari Morang
बुधबार, मंसिर १३, २०८०
मोरङमा जताततै हात्ती, डरले पोलिरहन्छ छाति

केही दिनयता बेलबारी, लेटाङ, केराबारी लगायत मोरङका विभिन्न स्थानमा जंगली हात्तीले स्थानीय बासिन्दाहरुलाई आतङ्कित बनाएको छ ।

करिब एक हप्ता अघि बेलबारी क्षेत्रमा देखा परेको दर्जनभन्दा बढी हात्तीको हुलले गत राति लक्ष्मीमार्गमा जताततै आतंक फैलाएको छ ।

चार पाँच दिनअघि बेलबारी बजार आसपास आतंक मच्चाएको दर्जनभन्दा बढी हात्तीको  करिब १२ वटा हात्ती लक्ष्मीमार्गमा प्रवेश गरेर आतङ्कित बनाएको थियो ।
हात्तीले २ घरमा क्षति पुराएको छ । लक्ष्मीमार्गबाट इलाका प्रहरी कार्यालय बेलबारी, नगर प्रहरी, दमकल, स्थानीयको सहयोगमा खेदाउँदा उत्तर पूर्वपश्चिम मुख्य सडक हुँदै जङ्गल तर्फ हात्ती प्रवेश गरेको छ ।
बथानमा करिब ६ भन्दा बढी बच्चाहरू पनि रहेको स्थानीयहरूले बताएका छन् ।

मङ्सिर ८ गते बेलुकी पनि करिब २७ वटा सङ्ख्यामा रहेको हात्तीहरूले बेलबारी ३ मा रहेको खपतरी बस्नेत धार्मिक बन भित्रको टिनको छानो भएको घरको संरचना भत्काउनुको साथै बेलबारी ३ र ४ मा लाखौँको अन्नबाली तथा फलफूलका रुख बिरुवाहरूको क्षति भएको थियो ।

त्यसो त झण्डै एक हप्तादेखि बारम्बार ठाउँ ठाउँमा हात्ती आउन थालेपछि केराबारी ९ को बेलचौरी, देवीझोडा लगायत आसपासका क्षेत्रमा पनि आतंक छाएको स्थानीय सार्के रसाइलीले बताए । स्थानीय बासीहरु घाँस दाउरा लिन जंगल जान पनि डराउन थालेका छन् । सोमबार राति देवीझोडाको स्कुल चोक नजिकै हात्ती आएको थियो । मंगलबार राती पनि दर्जनभन्दा बढी हात्तीको हुल देवीझोडाको गाउँ प्रवेश गरेर जंगलतर्फ प्रवेश गरेको स्थानीय तारा कार्कीले बताइन् ।

त्यसो त गत बर्ष पनि यस क्षेत्रमा हात्तीले आतंक मच्चाएको थियो । सुन्दरहरैचा क्षेत्रको जंगलमा मानिसको ज्यानै लिएको हात्तीले देवीझोडाकी एक युवतीलाई अपाङ्ग नै बनाइदिएको छ ।