२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
गाउँ/समाज

जसपा बेलबारी नगर समितिका सबैले छाडे  पार्टी 

Author Uttari Morang
बुधबार, कार्तिक २०, २०८२
जसपा बेलबारी नगर समितिका सबैले छाडे  पार्टी 

समाजवादी पार्टी (जसपा) बेलबारी नगर समितिका पदाढिकारी तथा सदस्यहरुले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् ।

नगर समितिका अध्यक्ष अमिर मगरसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै मंगलबार सार्वजनिक गरिएको विज्ञप्ति मार्फत पार्टी त्यागेको घोषणा गरेका छन्।

पार्टी परित्याग गर्नेहरूमा अध्यक्ष अमिर मगर, उपाध्यक्षहरू लिला राई र सन्तोष तामाङ, सचिव शिवकुमार राई, सहसचिव शशी राई, कोषाध्यक्ष बासुदेव राई लगायत सदस्यहरू जगत धिमाल, दिलकुमार तामाङ, बिरबल राई, आशिष घोण्डे गुरुङ, मिलन राई, सोना राई, रतन राई, हरिनारायण कलवार र रमेश गुरुङ रहेका छन्।

विज्ञप्तिमा भनिएको छ, “सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद, धर्मनिरपेक्षता, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, समावेशी समानुपातिक राज्यव्यवस्था र सबैखाले विभेद तथा उत्पीडनको अन्त्य गर्ने जस्ता विचार र सिद्धान्त बोकेर हामीले तन, मन, धन र ज्ञानले सकेको योगदान दिएका थियौं।”

तर पछिल्ला दिनहरूमा शीर्ष नेताहरूको व्यक्तिगत स्वार्थ, अहंकार र गुटबन्दीका कारण पटक–पटक पार्टी विभाजन हुँदै आएको र त्यसले इमानदार कार्यकर्ता तथा समर्थकमाझ निराशा र वितृष्णा बढाएको विज्ञप्तिमा उल्लेख छ।

नेतृत्वको भाषण मात्र जनमुखी भए पनि व्यवहारमा कुनै ठोस सुधार वा जनसेवामुखी काम नदेखिएको र पार्टी केही थान मन्त्रीहरूको स्वार्थमा केन्द्रित भएको आरोप पनि लगाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “यस अवस्थाले पार्टीप्रति आम जनता मात्र होइन, हामी आफैंमाझ पनि आकर्षण र विश्वास घटेको हुँदा आजकै मितिदेखि लागू हुने गरी सामूहिक रूपमा जसपा परित्याग गर्दछौं।”

उनीहरूले जसपाले दिएको जिम्मेवारी र विश्वासका लागि पार्टी नेतृत्वप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा देश र जनताको हितका लागि सकारात्मक भूमिकामा रहने प्रतिवद्धता व्यक्त  गरेका छन्।