संघीय सांसदले पहिलोपटक केराबारी गाउँपालिकामा गरे नागरिक सम्बाद कार्यक्रम
Uttari Morang
मोरङ केराबारीमा जनप्रतिनीधिसँग नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ ।
मोरङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधि सभा सांसद यज्ञमणि न्यापानेको विशेष पहलमा केराबारी गाउँपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिनीधि सभा सांसद यज्ञमणि न्यापानेको प्रमुख आतिथ्यता र केराबारी गाउँपालिका अध्यक्ष सुमन मिरिङ्चिङ मगरको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनमाया मगर,प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठ, निःवर्तमान अध्यक्ष रोहित बहादुर कार्की लगायत जनप्रतिनिधि, बुद्धिजीवी, अगुवा व्यक्तित्व तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय नागरिकहरुले विकास निर्माणसगै खोला ठेक्का र क्रसर उद्योगका कारण खेतियोग्य जमिन मरुभूमि बन्दै गएको भन्दै मापदण्ड बिपरित अवैध रूपमा चलेका क्रसरहरुलाई हटाउनुपर्ने राखेका थिए । बन जंगल खोलानाला संरक्षणसंगै कृषि, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य आदि समस्या बारे स्थानीयले सांसद यज्ञमणि न्यौपानेको ध्यानाकर्षण गराएका थिए ।
बिकास निर्माणसहित क्षेत्रगत योजनाहरुलाई समेट्न आफ्नो निर्वाचन क्षेत्रका जनताको राय सल्लाह लिदै नागरिकका आवाजलाई संघिय सरकारसंग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीयहरूले सडक, खानेपानी, खोला ठेक्का ,बाढी नियन्त्रण, कृषि विकास, शिक्षा क्षेत्रका समस्या लगायतका विषयमा आ-आफ्ना धारणा राखेका थिए।
समाजसेवी गोकुल बहादुर थापाले यसअघि पटक पटक सांसदहरुले चुनाव जितेर जाने तर कहिल्यै फर्किएर जनतासँग दोहोरो प्रतिप्रश्न गर्ने वातावरण नवनी रहेको बेला जनताका आवाज सुन्न पहिलो पटक आयोजना गरिएको नागरिक सम्बाद कार्यक्रम निरन्तर रुपमा संञ्चालन गर्नुपर्ने र जनताका माग प्रभावकारी कार्यान्वयन हुनुपर्ने वताए ।
कार्यक्रममा केराबारी २ का देवीलाल लिम्बूलेधनकुटा र मोरङ जिल्लाको साँध सिमाना बिवादको कारण केराबारी २ मा पिउने पानीको मुद्धा बर्षौंदेखि नसुल्झिएको र छिमेकी जिल्लाको चौबिसे गाउँपालिकाबाट पानीको मुहानमा हस्तक्षेप भएको मुद्दा अदालतसम्म पुगेर पनि समाधान नभएको बताए ।
कार्यक्रमका सभापति गाउँपालिका अध्यक्ष सुमन मिरिंङचिंङ मगरले स्थानीय तहले नागरिकका अपेक्षाअनुसार काम गरिरहेको उल्लेख गर्दै यस्ता संवाद कार्यक्रमले जनप्रतिनिधि र नागरिकबीचको दूरी घटाउने विश्वास व्यक्त गरे।
क्रसर व्यवसायी तथा केराबारी गाउँपालिकाका पुर्व अध्यक्ष रोहित कार्कीले क्रसर बन्द भए त्यसको परिणाम राम्रो नहुने बताए । व्यवसाय गरेर खान पाउनुपर्ने तर्क गर्दै कार्कीले दर्ता नगरी संञ्चालन नगरेको तर सरकारी रबैयाका कारण नविकरण नभएको बताए । उनले भने राज्यले नविकरण गर्ने प्रावधान हटाएको कारण नविकरण नभएको हो तर बन्द गरेर समाधान खोजिनु मुर्खता बाहेक केही हुँदैन । मापदण्ड पुरा नभएको भए मापदण्ड पुग्ने उचित स्थानमा क्रसरलाई ब्यबस्थापन गरिदिन उनले राज्यसँग आग्रह गरे ।
आफ्नो निर्वाचन क्षेत्रका जनताको आवाजलाई केन्द्रमा पुर्याउँन र आफ्नो क्षेत्रमा भएका समस्यालाई टिपोट गरी को पक्ष र विपक्षमा नभई जनताको सेवक भएर काम गर्न यस्तो कार्यक्रम सुरु गरिएको बताए । नागरिक संवाद कार्यक्रमले स्थानीय समस्याको पहिचान मात्र नभई समाधानतर्फ ठोस पहलको आधार तयार गर्ने विश्वास लिएको उनले बताए ।






