किरात राई यायोख्खा बेलबारी ११ ले गर्यो साकेला सिली प्रतियोगिता, लेटाङ प्रथम
Uttari Morang
कला र संस्कृतिको संरक्षण र सम्बर्धनका लागि सक्रिय किराँतीहरूको संस्था किरात राई यायोख्खाको बेलबारी ११ वडा समितिले विशेष शाकेला सिली प्रतियोगिता सम्पन्न गरेको छ।
किराँतीहरूको महान पर्व एले सम्वत ५०८६ उभौली शाकेलाको अवसरमा बुधबार अर्थात् २०७३ साल वैशाख २३ गते बेलबारी ११ लक्ष्मी मार्गस्थित साकेला थानमा साकेला सिली प्रतियोगिता तथा साकेला नृत्य प्रदर्शनी कार्यक्रम सम्पन्न भएको हो। किरात राई यायोख्खा बेलबारी ११ का अध्यक्ष शिवकुमार राईको अध्यक्षता, बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता र किराँत राई यायोख्खाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष तिलक प्रसाद राई लगायतको विशेष आतिथ्यतामा थियो । कार्यक्रममा विभिन्न राजनीतिक, शैक्षिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिति थियो। कार्यक्रममा किरात राई आयोखाका मोरङ जिल्ला अध्यक्ष केदार राई, बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राइ, मोरङका विभिन्न पालिकाका किरात राई यायोख्खाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायत किरात राई यायोख्खाको जिल्ला समितिदेखि पालिका स्तरीय समितिका प्रतिनिधिहरु तथा किराँती तथा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । बिभिन्न समुदायका हजारौं मानिसहरुको उपस्थितिमा भएको कार्यक्रममा बालबच्चा युवा युवतीदेखि वृद्धवृद्धाहरुसम्मको परम्परागत भेषभूषा सहित सांस्कृतिक साकेला नृत्यमा रुचि र आकर्षण देख्दा मोहित हो कोही मोहित हुन्थ्यो ।
कार्यक्रममा साकेला सिली प्रतियोगितामा सहभागी र अन्य गरी १० वटा टीमहरुले सहभागीता जनाएका थिए । जसमध्ये प्रतियोगितामा किराँत राई यायोख्खा लेटाङ, किरात राई यायोख्खा उर्लाबारी, किरात राई यायोख्खा इटहरी र किराँत राई यायोख्खा पथरी गरी चारवटा टिमले प्रतिस्पर्धा गरेका थिए।
साकेला सिली प्रतियोगितामा किरात राई यायोख्खा लेटाङ प्रथम, किराँत राई यायोख्खा पथरी द्वितीय, किराँत राई यायोख्खा उर्लाबारी तृतीय र किराँत राई यायोख्खा इटहरी सान्त्वना भएको छ । धर्मराइ राइ, रबिन्द्र राइ, मनुका राइ र देश बहादुर राइ रहेको निर्णायक टोलीले प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने टोलीको टुंगो लगाएको थियो । प्रतियोगितामा भेषभुषा, नृत्य तथा हाउभाउ, ऐतिहासिक सामग्री तथा कलाकार सङ्ख्या, गीत, ढोल र झ्याम्टाको ताल, सिली वाचन र समय पालनालाई अंगक दिने आधार मानिएको थियो ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टोलीले प्रमाणपत्रपत्रसंगै पोमी र एक एक जोर ज्याम्टा पाएका छन् भने तेश्रो हुने टोलीले प्रमाणपत्र र झ्याम्टा पाएका छन् । त्यस्तै सान्त्वना हुने टोलीले नगद ३ हजार रुपयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेता टोलीहरूलाई बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राई र कार्यक्रमका सभाध्यक्ष शिवकुमार राइले पुरस्कृत गरेका थिए।
उभौली साकेलाकै अबसरमा किराँत राई यायोख्खा बेलबारी ११ का अध्यक्ष शिवकुमार राइ र गाक्छुङ ज्ञानुराज राइद्वारा तिनचुलामा पितृहरुको सम्मान तथा साकेला थान मन्दिरमा प्रकृति पुजा गरी ब्रम्हाण्डको आशिर्बाद लिइएको थियो ।
सोही कार्यक्रममा ८0 बर्ष माथिका ९ जना जेष्ठ नागरिकहरु असिन राइ, नन्दकुमारी राइ, धनकुमारी राइ, रङमाहाङ परियार, रत्नबहादुर राइ, मतिरत्न राइ र असर कुमारी राइलाई दोसल्ला र सम्मान पत्रद्वारा सम्मानित गरिएको थियो ।
कार्यक्रममा किराँत राई यायोख्खाका बेलबारी नगर कार्यसमिति र बेलबारी वडा नम्बर ७, ८ र १० को को साकेला टोलीले पनि साकेला नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा धामी झाँक्री समूह लक्ष्मीमार्गले पनि आकर्षक नृत्य प्रस्तुत गरेको थियो । त्यसती स्थानीय विद्यालयहरु बेलबारी ११ मा अवस्थित लक्ष्मी माध्यमिक विद्यालय, लक्ष्मीमार्गकै माउन्ट एभरेस्ट इङलिस स्कुल र मोरङ ज्ञानोदय इङलिस स्कुलका विद्यार्थीहरूले पनि साकेला नृत्य प्रस्तुत गरेका थिए। प्रातियोगी बाहेक कार्यक्रममा सहभागी भएका सबै टोलीहरुलाई जनही नगद ३ हजार रुपयाँ र प्रमाणपत्रद्वारा सम्मानित गरिएको आयोजक किराँत राई यायोख्खाका बेलबारी ११ का अध्यक्ष शिवकुमार राइले जानकारी दिए ।
कार्यक्रममा किराँत राई यायोख्खाका नारिष्ठ केन्द्रिय उपाध्यक्ष तिलक राइ, लक्ष्मी माध्यमिक बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द भण्डारी, बेलबारी ११ का वडाध्यक्ष बिक्रम बान्तवा राइ, किराँत राई यायोख्खाका मोरङ जिल्ला अध्यक्ष केदार राई लगायतले साकेला र किरांत संस्कृतिको महत्वबारे धारणा राखेका थिए । -तिलक
कार्यक्रमका प्रमुख अतिथि नेपाल नगरपालिका संघ कोशी प्रदेशका संयोजकसमेत रहेका बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले धर्म र संस्कृतिको संरक्षण र प्रबर्द्धनका लागि बेलबारी नगरपालिका प्रतिबद्द रहेको बताए । बर्तमान सरकारले सुकुम्बासी बस्तीमा डोजर लगाएर आतंक मच्चाएको भन्दै मेयर राइले सुकुम्बासी र भूमिहीनहरुका हित बिपरित हुने गरी संघीय सरकारबाट आएका कुनै निर्देशन स्थानीय टहहरुले नमान्ने दाबी गरे।
त्यसैगरी कार्यक्रमको अध्यक्षता गरेका किराँत राई यायोख्खा, बेलबारी ११ का अध्यक्ष शिवकुमार राइले सबै जाति, धर्म र समुदायला संस्कृतिको सम्मान गर्नुपर्ने बताए । किराँती संस्कृतिको संरक्षणका लागि यायोख्खाले उभौली साकेलाको अवसर पारेर साकेला प्रतियोगिता आयोजना गरेको र कार्यक्रम भब्य रुपमा सफल भएको राइले बताए।
मानिसहरूले भरिभराउ साकेला थान परिसर मा पूजाआजा गरिनुका साथै मौलिक परिकारका खानाहरू समेत खुवाइएको थियो। साकेला सिली प्रतियोगितामा सांस्कृतिक नृत्यहरू मात्र होइन, रमाइलो मेलाको झल्को दिने रोटेपिङ लगायत आधा दर्जनभन्दा बढी खेलहरु खेलाउने स्टलहरूका कारण बालबालिकाहरु त्यस्ता खेलहरुमा पनि रमाइरहेका देखिन्थे । त्यति मात्र होइन, साकेलाथानमा चना चटपटे देखि खेलौना, खाजा नास्ता अनि घराएसी प्रयोजनका सामग्रीहरूको पनि राम्रो व्यापार भएको देख्न सकिन्थ्यो ।




