२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता नुवाकोटमा, कोशीका दुईसहित १८ टीम सहभागी

Author Uttari Morang
शुक्रबार, जेठ २९, २०८३
नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता नुवाकोटमा, कोशीका दुईसहित १८ टीम सहभागी
नुवाकोटको विदुरमा जेठ २९ गते शुत्रवारदेखि आइतबारसम्म तीनदिने नवौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ आयोजना भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा विभिन्न १८ वटा दोहोरी टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतिष्ठानले बिहिबार टोखाको धापासी स्थित केन्द्रीय कार्यलयमा पत्रकार सम्मेलना गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ ।

तीन दिन चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय लोक तथा दोहोरी गति प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले जानकारी दिइन् ।

विदुर नगरपालिकास्थित ईलम प्रशिक्षण केन्द्रमा आयोजना हुने यो प्रतियोगिताले नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्य राखेको छ ।

प्रतियोगितालाई समावेशी र प्रतिस्पर्धी बनाउन सातै प्रदेशबाट सिफारिस बएका दुई -दुइ समूह, उपत्यका समन्वय समितिका दुइ समूह र विदेश शाखाका दुइ समूह गरी कुल १८ वटा टीमले रनिङ शिल्डका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले शिल्डसहित नगद तीन लाख रुपैयाँ , द्वितीय हुनेले २ लाख, तृतीले १ लाख र सान्त्वना ५० हजार रुपैयाँ पाउनेछन् ।

विधागततर्फ उत्कृष्ट गायक, उत्कृष्ट गायिका, उत्कृष्ट नवगायक, उत्कृष्ट नवगायिका, अनुशासित गायक/गायिका, र उत्कृष्ट भेषभूषामा प्रस्तुत हुने गायक–गायिकाका लागि समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको प्रतिष्ठानले जबाएको छ ।

प्रतियोगिताको उद्घाटन समारोहमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय बहादुर सिंह लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । दोस्रो दिन बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री माननीय सुरेश श्रेष्ठ र समापन समारोह (अन्तिम दिन) मा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनेछन् ।

मूल समारोहको संयोजक प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष रीता थापा मगर आफैँ रहेकी छिन् भने सह–संयोजकमा प्रशासनिक उपाध्यक्ष दीपक खड्का र उप–संयोजकमा केन्द्रीय सदस्य उषा सुवेदी रहेका छन् ।

सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पशुपति शर्माले सम्हालेका छन् भने कार्यक्रम निर्देशकका रूपमा उज्वल जंग ठकुरी रहेका छन् । मञ्च व्यवस्थापनमा रामजी खाँण र अतिथि सत्कारमा राधिका हमाललगायतका कलाकारहरू विभिन्न उपसमितिमा सक्रिय छन् ।

कार्यक्रमको कुल अनुमानित बजेट ६८ लाख ४० हजार रुपैयाँ रहेको छ । कार्यक्रमको मुख्य संरक्षक बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय रहेको छ भने संरक्षकका रूपमा विदुर नगरपालिका र टोखा नगरपालिका रहेका छन् । नुवाकोट उद्योग वाणिज्य संघ यसको प्रवद्र्धक रहेको छ भने मुख्य सहयोगी संस्थाको रूपमा नुवाकोट निर्माण व्यवसायी संघ रहेको छ ।

प्रतियोगितालाई नुवाकोटमै पुगेर प्रत्यक्ष रूपमा करिब २० हजार दर्शकले अवलोकन गर्ने तथा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत देश तथा विदेशमा रहेका करिब ५० लाख नेपाली तथा नेपालीभाषी दर्शकले हेर्ने अपेक्षा प्रतिष्ठानको छ । प्रतिष्ठानले प्रवेश निशुल्क रहेको कार्यक्रममा सहभागी हुन  सम्पूर्ण लोक सङ्गीतप्रेमी, सञ्चारकर्मी र आम नागरिकलाई अपिल गरेको छ ।