कक्षा ७ देखि नै अतिरिक्त कक्षा कार्यक्रमलाइ निरन्तरता दिँदै बेलबारी नगरपालिका
Uttari Morang
शिक्षाको.गुणस्तर तथा नतिजा सुधार गर्न सहयोग पुर्याउने उद्देश्यले बेलबारी नगरपालिकाले अघिल्लो आर्थिक बर्ष शुरु गरेको अतिरिक्त कक्षा कार्यक्रम प्रभावकारी साबित भएपछि सो कार्यक्रमले कक्षा ७ देखि नै निरन्तरता पाएको छ ।
आर्थिक बर्ष २०८१/०८२ देखि सामुदायिक विद्यालयमा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीहरुका लागि बेलबारी नगरपालिकाले गणित बिषयमा अतिरिक्त कक्षा संचालन शुरु गराएको थियो । बेलबारी नगरपालिकाको सो कार्यक्रमबाट आधा दर्जनभन्दा बढी सामुदायिक विद्यालयका एक हजार चार सयभन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका थिए ।
नगरपालिकाले कक्षा ८ का विद्यार्थीका लागि प्रति कक्षा ५ हजार रुपैयाँ र र कक्षा १० का विद्यार्थीका लागि प्रति कक्षा ६ हजार ५ सय .रुपैयाँका दरले दिने घोषणा गरेको थियो । जस अनुसार गत बर्ष नगर क्षेत्रका १९ वटा सामुदायिक विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गरेका थिए । जस अनुसार नगरपालिकाका अनुसार कक्षा ८ मा अध्ययनरत मध्ये ७ सय १४ जना कक्षा १० मा अध्ययनरत ७ सय ३० विद्यार्थीहरुले अतिरिक्त कक्षा लिएका थिए । सो बर्ष बेलबारी ९ मा रहेको श्री जनता माविले सबैभन्दा बढी कक्षा ८ मा ७५ र कक्षा १० मा १ सय ३४ जना गरी २ सय ९ जनाले अतिरिक्त कक्षा लिएको तथ्यांक छ ।
त्यसैगरी बेलबारीका केही आधारभूत विद्यालयले कक्षा ८ को अतिरिक्त कक्षा संचालन गरेका छन् । जसमा बेलबारी ७ को रामजानकी आधारभूत विद्यालय, बेलबारी ६ को महेन्द्र आधारभूत विद्यालय, बेलबारी ९ को दिपज्योती आधारभूत विद्यालय, बेलबारी ४ को पन्चज्योति आधारभूत विद्यालय, बेलबारी ४ कै पन्चायत आधारभूत विद्यालय, बेलबारी ७ को देवकोटा आधारभूत विद्यालय र बेलबारी ५ को महेन्द्र आधारभूत विद्यालय छन् ।
गत बर्ष कक्षा ८ र १० मा अतिरिक्त कक्षा संचालन गरिएकोमा यस बर्षदेखि कक्षा ७ देखि नै अतिरिक्त कक्षको कार्यक्रम सञ्चालन गरिएको र यस आर्थिक बर्ष २०८२/०८३ मा विद्यालयहरुमध्ये एउटा बाहेक सबै विद्यालयहरुले यो कार्यक्रममा सहभागिता जनाएको बेलबारी नगरपालिकाबको शिक्षा अधिकृत सिताराम बोहराले जानकारी दिए ।
नगरपालिकाको सहयोगमा चलाइएको अतिरिक्त कक्षा कार्यक्रम निकै फलदायी भएको र विद्यार्थीहरुले राम्रो लाभ लिएको बेलबारी १० को महेन्द्र मावि की शिक्षिका दीक्षा तुम्साले बताइन् ।
नगरपालिकाको सहयोगमा सामुदायिक विद्यालयहरुले अतिरिक्त कक्षा संचालन गर्दा विद्यार्थीहरुले त लाभ लिएका छन् नै, शैक्षिक उपलब्धि समेत सुधार हुँदै गएको बेलबारी नगरपालिकाले जनाएको छ ।






