२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

Author Uttari Morang
शनिबार, आश्विन १३, २०७५
वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ ।
बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको पाइएको हो । हाल वडा कार्यालय परिसरमा वडाध्यक्ष निकट एक कार्यकर्ताकी श्रीमति र  तीर्थ गिरी नामको ब्यक्तिले सेवाग्राहीलाई प्रभावमा पारेर नागरिकता सिफारिस, ब्यक्तिगत घटना लगायत बिभिन्न फारम भरेको पैसा लिइरहेका छन् ।

उनीहरू त्यहाँ वडा कार्यालय स्थापना भएको केही समयपछिदेखि नै कार्यालय समयमा आएर त्यहाँ बस्न थालेका थिए । त्यहाँ सेवाग्राहीबाट खुलेआम आफुखुशी पैसा असुलिए पनि वडाध्यक्ष घनश्याम गौतम लगायतका जनप्रतिनिधि मुकदर्शक भएर बसेका छन् ।
त्यतिमात्र होईन, वडा कार्यालयले ती बिचौलियाले सेवाग्राहीबाट लिने शुल्क समेत तोकेको छैन । शुल्क नतोकिएपछि उनीहरूले विभिन्न फारम भरेको एक सय रुपैयाँदेखि दुई तीन सय रुपैयाँ लिने गरेको एक सेवाग्राहीले बताए ।
नगरपालिकाले जनप्रतिनिधिबाट निशुल्क हेल्पडेक्स संचालन गर्ने निति लिएर केही वडामा कार्यान्वयन समेत भइरहेको बेला २ नम्बर वडा कार्यालय परिसरमै बिचौलियाले सेवाग्राहीबाट पैसा असुल्ने गरेको सम्बन्धमा बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य खिना थापाले आफुहरुले पुरा समय दिएर हेल्पडेक्स चलाउन नभ्याउने प्रतिक्रिया दिइन् । उनले दुई जना बेरोजगारले रोजगारी समेत पाइरहेकोले आफुहरुको निगरानीमा काम गर्न दिइएको बताइन् ।
बेलबारी नगरपालिकाको वडा नम्बर ६, ९ लगायत केही वडा कार्यालयहरुमा जनप्रतिनिधिले हेल्प डेक्स नै राखेर पुर्णकालीन सेवा दिइरहेका छन् ।